जंगली च्याउले ज्यान लियो

२०७३ असार २५ गते, शनिबार

काठमाडौँ, २५ असार । गोरखाको काशीगाउँमा जङ्गली च्याउ खाँदा दुई जनाको मृत्यु भएको छ । अर्की एक बालिका बिरामी परेकी छिन् । काशीगाउँ–८ की ६५ वर्षीया फूलमाया गुरुङ र उनकी नातिनी ११ वर्षीया रविना गुरुङको शुक्रबार मृत्यु भएको हो भने ६ वर्षीया तिर्सना गुरुङ बिरामी छिन् । उनको काशीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
रविना र तिर्सना फूलमायाकी छोरीकीे छोरी (नातिनी) हुन् । उनीहरु काशीगाउँ–३ स्थित कोनाम्चेमा रहेको गोठमा बस्दै आएका थिए । “गाई गोठमा बस्दै आएका उनीहरुले विषालु च्याउ खाएका रहेछन्” काशीगाउँ गाविसका सहायक चन्द्रबहादुर गुरुङले भने , “च्याउको झोल मात्रै पिएकी तिर्सना बिरामी छिन् ।” च्याउ खाएलगत्तै तिर्सनाले बान्ता गरेकीले उनी बाँच्न सफल भएकी गुरुङले बताए ।
जङ्गलमा उम्रेको विषालु च्याउको तरकारी खाँदा फूलमाया र रविनाको मृत्यु भएको गाविस सचिव दीपक गुरुङको भनाइ छ । उपचाररत तिर्सनाले बताएअनुसार फूलमाया र रविनाले च्याउको तरकारी खाएको स्थानीय शिक्षक धनकुमार घलेले बताए ।

प्रतिक्रियाहरु