बाहिरी चक्रपथको काम सुरु

२०७३ असार २३ गते, बिहीबार

काठमाडौँ, २३ असार । उपत्यका विकास प्राधिकरणले चालु आर्थिक वर्षमा २१ किलोमिटर सडक विस्तार गर्ने लक्ष्य लिएकोमा ७५ किमि सडक विस्तार गरेको छ । चालु आर्थिक वर्षमा लक्ष्यभन्दा दुई सय प्रतिशत बढी विस्तार भएको हो ।
झन्डै चार वर्षअघि सुरु भएको सडक विस्तार अभियानले हालसम्म तीन सय किमि विस्तार गरिसकेको छ । उपत्यकामा जम्मा ५०८ किमि सडक विस्तार गरिने छ । अब दुई सय किमि सडक विस्तार गर्न बाँकी छ । उक्त सडक विस्तारका लागि बढीमा दुई वर्ष लाग्ने उपत्यका विकास प्राधिकरणका कार्यकारी प्रमुख डा. भाइकाजी तिवारीले बताए । उनि भन्छन – ‘कसैले मुद्दा हाल्ने र अल्मल्याउने काम भएन र साधन स्रोतको अभाव भएन भने आगामी दुई वर्षमा सडक विस्तार सकिन्छ । ’ उनका अनुसार प्राधिकरणले यस वर्ष एक अर्ब रुपियाँ खर्च गरेको छ । बजेटमा ३७ करोड विनियोजन गरिए पनि पछि थप रकम प्राधिकरणले प्राप्त गरेको थियो । जसमध्ये आधा रकम विस्तारमा परेका घर तथा जग्गाको क्षतिपूर्तिमा खर्च भएको तिवारीको भनाइ छ ।
हाल सडक विस्तारको काम चलिरहेको छ । बुधबार नयाँबानेश्वरदेखि सहकारीसम्मको सूर्यविक्रम ज्ञवाली मार्ग सडक किनारका संरचना भत्काइएको छ । आगामी आर्थिक वर्षका लागि बजेट पनि दोब्बर पारिएको छ । गत वर्ष ३७ करोड रुपियाँ विनियोजन गरिएको थियो भने आगामी वर्षका लागि ७३ करोड विनियोजन गरिएको छ ।
प्राधिकरणका अनुसार २०७०÷७१ मा सडक विस्तारमा १८ करोड ८१ लाख र संरचनाको क्षतिपूर्ति वापत ३२ करोड ५५ लाख रुपियाँ खर्च भएको थियो । तर, ०७१-७२ मा भने उक्त रकम घटेर सडक विस्तारमा ६ करोड १५ लाख तथा क्षतिपूर्तिमा ५५ लाख रुपियाँ पुगेको थियो । २०७२÷७३ मा एक अर्ब रुपियाँ खर्च भएको छ ।
सरकारले वार्षिक बजेटमार्फत सडकमा थप कार्यक्रम ल्याएको छ । आगामी वर्ष स्याटलाइट सिटी बनाउनेदेखि बाहिरी चक्रपथ निर्माणको काम हुने डा. तिवारीले बताए ।

प्रतिक्रियाहरु