माथिल्लो तामाकोसी निर्माण तीव्र

२०७३ असार १९ गते, आईतवार

काठमाडौँ, १९ असार । भूकम्पका कारण समस्यामा परेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको निर्माण अहिले तीव्र रुपमा भइरहेको छ । भूकम्पका कारण क्षतिग्रस्त काब्रेभिरमा जर्मनीबाट सुरुङ निर्माण गर्ने ब्रुमर मेसिन ल्याइएको छ । आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेका अनुसार पहुँच मार्ग निर्माण गर्न सो मेसिनको प्रयोग भइरहेको छ ।
भूकम्पका कारण आयोजनास्थल प्रवेश गर्ने काब्रेभिरको सडक ध्वस्त भएको थियो । कडा चट्टान काटेर सडक निर्माण गर्नुभन्दा सुरुङ निर्माण गर्नु नै उपयुक्त हुने हुँदा सुरुङ निर्माण सुरु गरिएको हो । “ब्रमुर मेसिनको प्रयोगले केही दिनमै सुरुङ सम्पन्न हुन्छ भन्ने विश्वास छ,” उहाँले भन्नुभयो । रोड टनेल निर्माण गर्न समेत जर्मनीको ब्रुमर प्रयोग गरिएको थियो ।
उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझी, व्यवस्थापिका–संसद् विकास समिति, कृषि तथा जलस्रोत समितिका सभापतिसहितको टोलीले हालै स्थलगत निरीक्षण गरी आयोजना अगाडि बढाउन निर्देशन दिएको थियो । काब्रेभिरमा सुरुङ निर्माणसँगै बाँधस्थल तथा अन्य भौतिक संरचनाको कामलाई समेत अगाडि बढाइएको छ । वीरगन्ज भन्सारमा थन्किएका सामग्री आयात सुरु गरिएको छ ।
नाकाबन्दीका कारण कोलकत्ता बन्दरगाह हुँदै वीरगन्ज भन्सार सामान आइपुग्न लामो समय लागेको थियो । बर्खा लागेपछि ट्रान्सफर्मर, पेनस्टक पाइपलगायत सामान आयात गर्न समस्या भएको प्रवक्ता न्यौपानेले बताउनुभयो । वन तथा भू–संरक्षण मन्त्रालय र राष्ट्रिय निकुन्ज विभागको स्वीकृतिपछि प्रसारण लाइनको कामले समेत गति लिएको छ ।
गोगरदेखि खिम्तीसम्म २२० केभी क्षमताको प्रसारण लाइनमध्ये ४५ वटा टावर निर्माण गरिएका छन् भने फाउन्डेसनको काम पनि अन्तिम चरणमा पुगेको छ । भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण समस्यामा परेको आयोजनालाई आव २०७४-७५ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रियाहरु