सिलिन्डर विस्फोट छानबिन प्रतिवेदन सार्वजनिक

२०७३ असार ७ गते, मंगलवार

काठमाडौँ, ७ असार । मिति २०७३÷२÷७ मा ललितपुरको हौगालमा भएको एचपी ग्यासको सिलिन्डर विस्फोट सम्बन्धमा आपूर्ति मन्त्रालयले गठन गरेको छानबिन समितिले पेस गरेको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गरेको छ ।
मन्त्रालयद्वारा सोमबार प्रकाशित विज्ञप्ति अनुमार विस्फोट भएको सिलिन्डर ग्यास उद्योगले मिति २०७१÷६÷११ मा खरिद गरेको देखिएको हुँदा सो सिलिन्डर नयाँ अवस्थाको रहेकाले नियमानुसार हाइड्रो स्टाटिक टेस्क गर्नुपर्ने अवस्था नदेखिएको, ग्यास सिलिन्डर विस्फोट भएको, तर ग्यास लिक भएर आगलागी भएको नदेखिएको र सिलिन्डरको भल्भ यथावत रहेको ग्यास सिलिन्डरको गुणस्तर सम्बन्धमा उक्त विस्फोट भएको सिलिन्डरको अवशेषको नेपाल गुणस्तर तथा नापतौल विभागबाट प्राप्त परीक्षण नतिजामा विस्फोट हुँदाको अवस्थामा उच्च चापले गर्दा टुक्राको मोटाइ एकै नासको नभई फरक हुने सम्भावना भएको जनाइएको छ ।
त्यस्तै, सुरेश ताम्राकार समेतले तामा पित्तलको काम गर्दै रहेको र एक सिलिन्डरबाट ग्यास र अर्को सिलिन्डरबाट अक्सिजन मिश्रण गरी उच्च प्रेसरमा ग्यास वेल्डिङ कार्य भइरहेकोमा ग्यास नबलेकाले धु्रव ताम्राकार समेतले ग्यास किन बलेन भनी परीक्षण गर्दा विस्फोट भई घटना भएको उल्लेख छ ।
ग्यास सिलिन्डरमा करिब ८० प्रतिशत भाग ग्यास रहेको हुन्छ भने २० प्रतिशत भाग खाली रहन्छ । यो खाली भागले निश्चित प्रेसरलाई थामी रहेको हुन्छ । यदि उपयोगकर्ताले अन्य कुनै तरिकाबाट सिलिन्डरमा प्रेसर दिएको वा नोजल पाइपमा ब्लकेज भएको नहुँदा सिलिन्डरमा आवश्यकताभन्दा बढी प्रेसर पुग्न जाने सम्भावना रहन्छ । किनकि निजहरुले किन बलेन भनी परीक्षण गर्दाको अवस्थामा ग्यास सिलिन्डर विस्फोट भएको घटनास्थलको अवस्थाबाट बुझिएको जनाइएको छ ।
त्यसैगरी, सिलिन्डरभन्दा कम्तीमा ६ इन्चमाथि राखेर ग्यास बाल्नुपर्नेमा सो पालना भयो भएन, सिलिन्डर प्रयोग गर्नुअघि सिलिन्डरको अवस्था कस्तो थियो भन्नेबारेमा प्रष्ट खुल्न सकेन प्रतिवेदनमा उल्लेख छ । अर्कोतिर, अक्सिजनको उच्च दबाबमा ग्यास बलिरहेको तामा पित्तलका भाडा बनाउने कार्य भइरहेको अवस्थामा व्याक फाइरिङ भई सिलिन्डरभित्र आगो पुग्ने सम्भावना पनि रहेको छ । तर सो अवस्था थियो थिएन, अहिलेको वस्तुस्थितिबाट यकिन गर्न नसकिएको बताइएको छ । सिलिन्डरको उपयुक्त मोटाइ समेतका सम्बन्धमा विज्ञबाट छुट्टै अध्ययन अनुसन्धान गरिनुपर्ने हुनसक्ने प्रतिवेदनमा उल्लेख छ । मानवीय क्षति भएकामा कानुनी प्रक्रिया र व्यावहारिक सम्वेदनशिलतालाई समेत ध्यानमा राखी पीडित र तिनका परिवारले उचित क्षतिपूर्ति पाउने आशा छानबिन समितिले गरेको पनि जनाइएको छ । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु