७२ वर्षमा आमा !

२०७३ बैशाख २९ गते, बुधबार

काठमाडौँ, २९ वैशाख । भारत पञ्जाव राज्यकी ७२ वर्षीया दलजिन्दर कौर गत महिना आमा बनेकी हुन् । उनले आइभिएफ पद्धतिबाट सन्तान जन्माएकी हुन् । मातृत्व सुख प्राप्तिसँगै आफ्नो जीवन साकार भएको उनले बताइन् ।
भारतीय संचारमाध्यमका अनुसार हरियाणाको एक क्लिनिकमा दुई वर्षसम्मको उपचारपछि दलजिन्दर कौर र उनका ७९ वर्षका पति मोहिन्दर सिंह गिललाई सन्तान प्राप्ति भएको हो । दलजिन्दर कौरका अनुसार उनीहरुले बिहेको ४६ वर्षसम्म सन्तान सुखका लागि तड्पिनु परेको थियो । उनीहरुले सन्तान प्राप्तिको आशासमेत मारिसकेका थिए । उनले भनिन्, ‘आखिर भगवानले हाम्रो पुकार सुन्नुभयो ।’ यो उमेरमा पनि आफ्नो सन्तानको हेरचाहमा अभूतपूर्व जोस आएको उनको भनाई छ । उनले भनिन्, ‘यस्तो उर्जा मैले कहिल्यै महसुस गरेकी थिइनँ ।’ दलजिन्दरका अनुसार उनीहरुले एक विज्ञापनमार्फत आइभिएफ पद्धतिबाट बच्चा जन्माउन सकिने थाहा पाएका थिए । त्यसपछि उनीहरु अन्तिम प्रयासका लागि सो क्लिनिक पुगेका थिए । त्यहाँ उनले आफ्नो उमेर ७० वर्ष बताएकी थिइन् । तर चिकित्सकले उनको उमेर ७२ वर्ष पुगेको थाहा पाएका थिए । बच्चाको जन्म १९ अप्रिलमा भएको हो । बच्चाको वजन दुई किलो थियो । भगवानको आशिर्वाद सम्झेर उनीहरुले बच्चाको नाम ‘अरमान’ राखेका छन् । – एजेन्सी

प्रतिक्रियाहरु