माओबादीद्वारा आन्दोलनको घोषणा , आज मशाल जुलुस

२०७३ बैशाख १२ गते, आईतवार

काठमाडौं, १२ बैशाख । नेकपा माओवादीले काठमाडौंको कपन स्थित बालउद्धार उमाविमा आयोजना गरेको आन्तरिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेपछि उसले आन्दोलनको घोषणा गरेको छ । यसै क्रममा माओवादीले आज बेलुकी ६ बजे मशाल जुलश प्रदशन गर्ने भोलि बैशाख १३ गते उपत्यकामा विरोध प्रदर्शन गर्ने र बैशाख १४ गते देखि दोस्रो चरणका संघर्षको कार्यक्रमहरु घोषणा गर्ने बताएको छ । यस बिषयमा माओवादीको उपत्यका ब्यूरो इञ्चार्ज बिषमले जारी गरेको प्रेस बक्तब्यको पूर्ण बिबरण यस प्रकार रहेको छ – “हिजो साँझ ६ बजे तिर पार्टी प्रशिक्षण र कार्यक्रम सकेर निस्किरहेको बेला कपन कार्यक्रम परिसरबाट हाम्रो पार्टीका केन्द्रीय सदस्य तथा काठमाण्डौं जिल्ला इञ्चार्ज सेक्रेटरी क. माइला लामा र बिद्यार्थी नेता चिरञ्जीवी ढकाल लगायतका आधा दर्जनभन्दा बढी कमरेडहरुलाई बिना कुनै कारण र जानकारी बिना नै गिरफ्तार गरिएको छ । अहिले अरु कमरेडहरुलाई छाडेर क. माइला लामा र चिरञ्जीवी ढकाललाई हिरासतमा राखिएको छ । देशको शान्ति सुरक्षाको जिम्मा लिएका पोशाकधारी सुरक्षाकर्मीहरु बाटै नागरिकहरु त्यसमा पनि देश बदल्न हिंडेका एउटा राजनीतिक दलका नेता र कार्यकर्ताहरुलाई अपराधीलाई झैं गरी अचानक बाटोबाटै गिरफ्तार गरेर बेपत्ता पार्ने काम एउटा सुरक्षाकर्मीको होइन । यसमा हाम्रो पार्टी नेकपा माओबादी उपत्यका ब्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ ।
देशमा लोकतन्त्र आएको छ, शान्ति सुरक्षाको स्थापना भएको छ, जनताको सत्ता आएको छ, त्यसमा पनि कम्युनिष्ट सरकारहरुको सरकार छ भनिन्छ, देश बदल्न खोज्नेहरुको सरकार छ तर यिनले पञ्चायतले पनि नगरेको प्रतिगामी कामहरु गरिरहेका छन् । देशको सीमा मिचिएको छ । दिन दाहाडै तस्करी, कालोबजारी र भष्टाचारीहरुले सरकारी वा गैरसरकारी कार्यालय र संस्थाहरु मार्फत खुल्लायाम ठगी र भ्रष्टाचार गरिरहेका छन् । कुनै धार्मिक संघ–संस्था र विभिन्न नाममा करोडौं ठगी र भ्रष्टाचार गर्नेहरुलाई यो सरकार र उनैको निर्देशनमा चल्ने केही मुठीभर दलालहरुले संरक्षण दिने काम गरिरहेको छन् र भष्टाचारी र तस्करी, गुण्डागर्दी गर्ने जनताका दुश्मनहरु र देशै बर्बाद पार्ने संघसंस्थाहरुबाट कमिशन घुस खाएर जसरी जनताको पक्षमा संघर्षरत योद्धाहरु माथि बिना कारण बाटोघाटो बाटै गिरफ्तार गर्ने काम गरिरहेका छन् । हाम्रो पार्टी यो क्रियाकलापको घोर बिरोध भत्र्सना गर्दछ साथै यो रबैया सच्याउन माग गर्दछ । यो घटना दलाल सरकार र सुरक्षाकर्मीहरुको करामतको एउटा ज्वलन्त उदाहारण हो । यो घटनाले दलाल सरकार र तिनको सुरक्षाको जिम्मा लिएका सुरक्षा अंगहरुको मुकुण्डो उदाङ्गो गरिदिएको छ ।
हामी चाहान्छौं, हाम्रा पार्टीका नेता माइला लामा र युवा बिद्यार्थी नेता चिरञ्जीवी ढकाललाई स–सम्मान बिना शर्त रिहा गरियोस् । नत्र हामी पार्टीको तर्फबाट सरकार र पुलिस प्रशासनको यो रबैयाको बिरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गर्नेछौं । यदि आज १० बजे भित्र वहाँहरुलाई रिहा गरिएन भने चौकी घेराउ, मशाल जुलुश, चक्काजाम र अन्य चरणबद्ध आन्दोलनको कार्यक्रमहरु अगाडि बढाउन बाध्य हुनेछौं । यसबाट उत्पन्न हुने परिणामको जिम्मा स्वयं सरकार र प्रशासन हुनेछ । यसको लागि हाम्रा सम्पूर्ण कार्यकर्ता र समर्थक शुभचिन्तक जनता तथा देशभक्त शक्तिरुसँग यसको सहयोग र समर्थनका लागि समेत हाम्रो पार्टी हार्दिक आग्रह गर्दछ ।
संघर्षका कार्यक्रमहरु ः
– २०७३ बैशाख १२ गते बेलुकी ६ बजे मशाल जुलश ।
– २०७२ बैशाख १३ गते उपत्यकामा विरोध प्रदर्शन गर्ने ।
– २०७३ बैशाख १४ गते देखि दोस्रो चरणका संघर्षको कार्यक्रमहरु घोषणा गरिने छ ।”

प्रतिक्रियाहरु