अचेल – नेत्रबहादुर कुँवर ‘अशोक’

२०७२ चैत्र ६ गते, शनिबार

फूटबल खेलेर तर्साइएको
मेरो जिन्दगीको रङ्गशालालाई
अचेल
विदु्रप बनाइएको छ
खेलाडीका बुटका गोटीहरूद्वारा ।

आइया !
निकालेर ऐजन शब्दहरू
निस्प्राण बन्दै छु
ठोकिएको छ किला ठ्वाकठ्वाक
हिजो भर्खरैको कुरा हो
खाली पारिएको थियो कबड हल
अब यहाँ दाइँ गर्ने अरे ।
तारेर स्निग्ध
सयपत्री फूलको थुँगालाई
युगले चपाएको छ यतिखेर
एउटा स्वादिष्ट परिकार बनाएर
अचेल
तिहारमा देखिन्न यसलाई
भव्य महलहरूले जिब्रो पड्कारि सक्यो ।

हाप्सिलाहरू
मक्खन गल्लीको छेँडबाट
हो
भर्खरै मैले देखेको
न्युरोडको व्यस्त सडकतिरै हुर्रिएको
छिचोलेर भयङ्कर जङ्गललाई
स्वप्न बागमा ढुलिमुली गर्न
सिंह दरबार पस्नु छ रे उसलाई ।
अचेल
विद्रुप तुल्याइएको छ
रङ्गशाला
खाली पारिएको छ
कबड हल
चपाइएको छ
कोमल स्निग्ध सयपत्री फूल
सल्बलाएका छन्
हाप्सिलाहरू ।

प्रतिक्रियाहरु