भारतद्वारा पाकिस्तानलाई पठानकोटमा भएको आक्रमणको जानकारी

२०७२ पुष २१ गते, मंगलवार

काठमाडौं, २१ पुस । भारतले पठानकोटस्थित भारतीय वायु सेनाको शिविरमा भएको आक्रमणसम्बन्धी जानकारी पाकिस्तानलाई दिएको छ ।
भारत सरकारले पठानकोटमा भएको आतंककारी आक्रमणसम्बन्धी महत्वपूर्ण जानकारी पाकिस्तानलाई दिएको हो । पाकिस्तानी विदेश मन्त्रालयले भारतबाट प्राप्त जानकारीमा आधारित रहेर काम सुरु गरेको जनाएको छ ।
पाकिस्तानको आतंककारी समूह युनाइटेड जिहादी काउन्सिलले पठानकोट आक्रमणको जिम्मेवारी लिएको छ ।
गत शनिबार भारतको पञ्जावस्थित पठानकोठमा रहेको भारतीय वायु सेनाको शिविरमा भएको आतंककारी आक्रमणमा परी सात सुरक्षाकर्मीको ज्यान गएको थियो भने २० जनाभन्दा धेरै सैनिक घाइते भएका छन् ।
पाकिस्तानको विदेश मन्त्रालयले भारत सरकारसँग सम्पर्क गरी राखेको जानकारी समेत दिएको छ । पाकिस्तानले आफ्नो सरकार आतंककारीसँग लड्नका लागि प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।
पाकिस्तानी युनाइटेड जिहाद काउन्सिलका प्रवक्ता सैयद सदाकत हुसेनले सोमबार सञ्चारमाध्यमहरुलाई इमेल पठाएर आक्रमणको जिम्मेवारी लिएका थिए ।
पठानकोट आक्रमणबाट भारतका कुनै पनि सैन्य शिविर आफूहरुको पहुँचबाट बाहिर नरहेको जानकारी दिन खोजेको हुसेनले जारी गरेको इमेलमा उल्लेख छ ।
स्वतन्त्र कास्मिर अभियानअन्तर्गत आक्रमण गरिएको हुसेनले जनाएका छन् । पठानकोट आक्रमणपछि सेनाले सुरु गरेको कारबाहीको अभियानका क्रममा अहिलेसम्म ५ जना आतंककारी मारिएको भारतीय सेनाले जनाएको छ । – एजेन्सी

प्रतिक्रियाहरु