भूकम्प पीडितहरु चिसोबाट धमाधम ज्यान गुमाउन थाले

२०७२ पुष १२ गते, आईतवार

काठमाडौ, १२ पुस । भूकम्प पीडितहरु बढ्दो चिसोबाट धमाधम ज्यान गुमाउन थालेका छन् ।भूकम्पबाट अति प्रभावित हिमाली र पहाडी जिल्लाका बासिन्दासम्म चिसोबाट बच्ने कुनै प्रबन्ध सरकारी र गैर सरकारी निकायबाट नगर्दा बृद्धबृद्धा र कलिला बालबालिका मारमा पर्न थालेका हुन् । लगातारको चिसो ठण्डी र सिरेटोको प्रहारमा परेका बृद्धबृद्धा र बालबालिका ज्यान गुमाउन विवश बनेका हुन् । पछिल्लो घटनाका रुपमा चिसोका कारण दोलखामा मात्र एक हप्ताका बीचमा पाँच जना बृद्धबृद्धाको मृत्यु भएको खबर छ । भूकम्पबाट घरबिहीन भई अस्थायी रुपमा टहरामा बस्दै आएका बृद्धबृद्धा चिसोकै कारण मृत्युवरण गर्न बाध्य बनेका हुन् ।
दोलखाको दक्षिणी गाविस डाँडाखर्क–८ का ९५ वर्षीय धनराज तामाङ, झुले–७ का ८६ वर्षीय लालबहादुर कार्की, झुले–४ का ८३ वर्षीया जानुका कार्की, गैरीमुदी गाविसका ६८ वर्षीय लालबहादुर तामाङ र जफे–१ का ७९ वर्षीया भद्रकुमारी पोखरेलको चिसोको कारण मृत्यु भएको पारिवारिक स्रोतलाई उधृत गर्दै राससले जनाएको छ ।
अस्थायी टहरामा आश्रय लिइरहेका बृद्धबृद्धामा श्वासप्रश्वासको समस्या बढी देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् । जिल्ला प्रहरी कार्यालयले भने यसबारेमा आधिकारिक जानकारी प्राप्त नभएको जनाएको छ ।
प्रहरीलाई खवर गर्दा प्रशासनिक झण्झट बढी हुने भएकाले जानकारी नगराएको डाँडाखर्कका स्थानीय राजु लामाको भनाई छ । सरकारले न्यानो कपडा किन्न दश हजार रुपैयाँ दिने भनिए पनि अझैसम्म उक्त रकम पनि सबै पीडितले पाएका छैनन् ।
सिन्धुपाल्चोकमा पनि चिसोकै कारण सात जना सर्वसाधारणको मृत्यु भैसकेको छ । जस्ताको टहरो र त्रिपालमा जसोतसो वर्षात् गुजारेका भूकम्पबाट अति प्रभावित गोरखा, नुवाकोट, रसुवा, सिन्धुपालचोक, दोलखालगायत १४ जिल्लाका बासिन्दा फेरि चिसोको मारमा परेपनि सरकारी निकायको ध्यान पटक्र्क जान नसकेको हो ।
उता, गोरखा आरुआर्वाङमा पनि अत्यधिक चिसोका कारण भूकम्प पीडित ६० बर्षिय लालबहादुर बरामको मृत्यु भएको छ ।
बैशाख १२ को महाभूकम्पले घर भत्किएर अस्थायी टहरामा बस्दै आएका बरामको चिसोले कठांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
बिहान अबेरसम्म पनि टहरोबाट बाहिर ननिस्किएपछि टहरोभित्र गएर हेर्दा बराम मृत अवस्थामा भेटिएको उनका छिमेकीहरुले बताएका छन् ।

प्रतिक्रियाहरु