माओले जनवादी क्रान्तिमा पुर्याएको योगदानबारे बहस

२०७२ पुष ११ गते, शनिबार

काठमाडौं, ११ पुस । चिनियाँ जननेता माओले जनवादी क्रान्तिमा पुर्याएको योगदानबारे बहस गरिएको छ । माओवादी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघको आयोजनामा काठमाडौंका संवाद डबलीमा सो बहस गरिएको हो । ‘येनान गोष्ठी र माओका योगदान’ विषयमा माओका योगदानबारे चर्चा गरिएको हो । कार्यक्रममा देशभक्त संघीय जनवादी मोर्चाका अध्यक्ष तिलक परियारले माओले नयाँ जनवादी क्रान्तिमा पुर्याएको योगदानबारे चर्चा गरेका थिए । ‘माओले विकास गरेका सर्वहारा सांस्कृति क्रान्ति, नयाँ जनवादी क्रान्तिको सिद्धान्त वर्तमान विश्वमा सर्वमान्य भइसकेका छन् । माओको विचारलाई
आत्मसात नगर्ने कम्युनिष्टले विश्वको कुनैपनि देशमा क्रान्ति सम्पन्न गर्न सक्दैनन्’ परियारले भने । परियारले माओले प्रतिपादन गरेका सिद्धान्त नेपालमा अहिले पनि अपरिहार्य भएको बताए । त्यस्तै नेकपा माओवादीका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीले माओको बन्दुकको नालबाट राज्यसत्ताको जन्म हुन्छ भन्ने सिद्धान्त नेपालको वर्तमान परिवेशको लागि आवश्यक रहेको दाबी गरे । वर्गको चरित्र बदलिएको बताउँदै विरहीले नयाँ ढंगले माओको विचारको विकास र प्रयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (मसाल) निकट बुद्धिजीबी रामप्रसाद पुरी, खेम थपलिया लगायतले माओको योगदानको चर्चा गरेका थिए । कलाकार रमण थामीले माओद्वारा रचित गीत गाएका थिए । चीनमा १९४९ मा जनवादी क्रान्ति सम्पन्न गरेका जननेता माओको जन्म सन् १८९३ डिसेम्बर २६ मा भएको थियो भने मृत्यु १९७६ सेप्टेम्बर ९ मा भएको थियो । येनान गोष्ठी सन् १९४२ मे २ र २३ भएको थियो ।

प्रतिक्रियाहरु