पूर्वी नाकाबाट सहजताका साथ इन्धन भित्रिदैं

२०७२ मंसिर २९ गते, मंगलवार

काठमाडौं, २९ मंसिर । क्षेत्रीय प्रहरी कार्यालय मोरङका अनुसार पूर्वी नेपालको नाका सहज भएसँगै पेट्रोलियम पदार्थ भित्रिने क्रम बढेको छ । गएराति मात्र पूर्वी नाका झापाको कांकडभिट्टा–पानीट्याङ्की र मोरङको विराटनगर–जोगबनीबाट ठूलो परिमाणमा डिजल–पेट्रोल र मालवाहक गाडी नेपाल भित्रिएका हुन् । यी दुबै नाका भएर हिजो दिनभरमा ३९ ट्याङ्कर डिजल, १४ ट्याङ्कर पेट्रोल, एक ट्याङ्कर हवाई इन्धन, औषधीका सात ट्रकसहित ३९० मालवाहक गाडी नेपाल भित्रिए ।
कांकडभिट्टाबाट डिजल १३, पेट्रोल ४, हवाई इन्धन एक ट्याङ्करसहित औद्योगिक कच्चा पदार्थ बोकेका १२८ वटा सवारी साधन भित्रिए ।
त्यस्तै बिराटनगरको रानी भन्सारबाट २६ ट्याङ्कर डिजल, १० ट्याङ्कर पेट्रोल, सात ट्रक औषधीसहित २७० मालवाहक गाडी नेपाल भित्रिए ।
यी दुबै नाकाबाट आज पनि बिहानैदेखि गाडी नेपाल भित्रने क्रम जारी छ ।
पछिल्लो समय मधेसी मोर्चाका कार्यकर्ता धर्नामा सहभागी हुन छाडेपछि यी दुबै नाकाबाट पेट्रोलियम पदार्थ सहज रुपमा भित्रिएका हुन् ।
यता, पूर्वी नाकाको तुलनामा पश्चिमी नाकाबाट भने कमै मात्रामा गाडी नेपाल भित्रिएका छन् । भैरहवा–सुनौली नाकाबाट हिजो दिनभरमा डिजल–पेट्रोलको एउटा गाडी पनि भित्रिएन । ग्यास बुलेट भने १० वटा भित्रिएको छ । सो नाकाबाट दिनभरमा ८१ मालवाहक गाडी नेपाल भित्रिए ।
वीरगन्ज–रक्सौल नाका भने अझै खुल्न सकेको छैन । आन्दोलनरत मधेसी मोर्चाका केही कार्यकर्ताले सीमा नाकामा अझै धर्ना जारी राखेकोले भारतले यो नाकाबाट कुनै सवारी साधन नेपाल प्रवेश गर्न दिएको छैन ।

प्रतिक्रियाहरु