दिल्लीका दलालविरुद्ध एकजुट होऔं – राजेन्द्र चिमौरिया

२०७२ मंसिर १९ गते, शनिबार

भारतको नाकाबन्दी र मधेशी मोर्चाको आन्दोलनले देश अस्तव्यस्त बनेको छ । जनजीवन चौपट भएको छ । सरकार र मधेशी मोर्चाबीच पटक–पटक निर्णायक वार्ता हुने भनिए पनि त्यो सार्थक बन्न सकेको छैन । सरकार र मधेशी मोर्चाले निर्णायक वार्ता गर्ने बताए पनि वार्ताप्रति देखाएको उदासीनताले निर्णायक वार्ता हुन नसकेको हो । मधेशी मोर्चाले गरेको आन्दोलन देश र नेपाली जनताको हितमा भन्दा पनि भारतीय उक्साहटमा भएको देखिन्छ, जुन चर्चा सुरुदेखि नै चल्दै आएको छ । जुन कुरा पछिल्लो चरणमा मधेशी मोर्चाको व्यवहारबाट प्रस्ट हुँदै गएको छ । सरकार मधेशी मोर्चाको मागप्रति लचक हुँदै निर्णायक वार्तामा जुटिरहेको समयमा वार्ताको बाटो मोडेर मधेशी मोर्चाका शीर्षस्थ नेताहरु भारतीय दूतावास पुगे । यो आफैँमा लाजलाग्दो विषय हो भने आफ्नो हक र अधिकारको लागि मधेशमा आन्दोलन गरिरहेको स्वाभिमानी जनताको अपमान पनि हो । यसले के पुष्टि हुन्छ भने मधेशी मोर्चाको आन्दोलन मधेशी जनताको हक र हितभन्दा पनि भारतीय पक्षपोषणका निम्ति छेडिएको छर्लङ्ग भएको छ । आफ्नो देश र जनताको मुक्तिका लागि लड्नुपर्ने राजनीतिक दल र नेताहरु यसरी विदेशी शक्तिको गुलाम बन्नु आमनेपाली जनताको लागि शर्मनाक विषय हो । मधेशी मोर्चाले अहिले सरकारले बोलाएको निर्णायक वार्तामा बस्न छोडेर भारतीय दूतावास छिर्नु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नियन्त्रणमा भारत पस्नुले उनीहरुको असलियत आमनेपाली जनतासमक्ष छर्लङ्ग हुन पुगेको छ । नेपाल र नेपाली जनताको हित र रक्षार्थ राजनीति गर्नुपर्ने दलहरु यसरी दिल्लीको दलाल बनेपछि नेपाल र नेपाली जनताको कहिल्यै मुक्ति हुने छैन । यसर्थ, अब दलाली राजनीतिविरुद्ध आमस्वाभिमानी जनता एकढिक्का भएर लड्नु आवश्यक छ । अन्यथा हाम्रो नेपाल र हामी नेपाली भएर बस्न पाउने छैनौँ, चेतना भया ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु