चीनबाट निरन्तर इन्धन ढुवानी हुन्छ :निगम

२०७२ कार्तिक २७ गते, शुक्रबार

काठमाडौं, २७ कार्तिक । नेपाल आयल निगमले रसुवागढी नाकाबाट पेट्रोलियम पदार्थ ढुवानी निरन्तर हुने बताएको छ । आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले चीन सरकारले अनुदानमा दिएको पेट्रोल ल्याउने कार्य सकिएपछि चीनबाटै व्यापारिक प्रयोजनको पेट्रोलियम पदार्थ ल्याउने कार्यलाई निरन्तरता दिने तयारी गरिएको बताए । साँघुरो सडकका कारण अहिलेसम्म साना टयाङ्करहरुले ढुवानी गरिरहेको बताउँदै निर्देशक खड्काले रसुवागढी नाकालाई निरन्तरता दिनका लागि नेपाल सरकारले सडक चौडा बनाउनमा ध्यान दिनुपर्ने बताए । अहिले दैनिक २५ वटासम्म ट्याङ्करले तेल ल्याएको बताउदै उनले भने, ‘बाटो राम्रो हुने हो भने ठूला ट्याङ्कर पनि पठाउन सकिन्छ र सङ्ख्या पनि बढ्ने हुँदा ढुवानीमा सहज हुन्छ ।’
चीन सरकारसँग पेट्रोलियम पदार्थको व्यापारिक कारोवार गर्ने सम्झौता भए पनि मूल्य निर्धारण अझै हुन नसकेको खड्काले बताए । तर मूल्य निर्धारण नभए पनि नेपालले पेट्रोल ल्याउने कार्यलाई नरोक्ने उनले बताए । रसुवागढीबाट पेट्रोल ल्याउँदा ढुवानी बढी लाग्ने भएका कारण नेपाल सरकारले केही सहुलियत दियो भने उपभोक्तालाई सहज हुने बताएका छन् ।
शुक्रबार ईमेज एफएमसँग कुरा गर्दैै निर्देशक खड्काले तातोपानीको सडकमा ठूला ट्याङ्कर पनि गुड्न सक्ने भएका कारण सरकारले यो नाका खुलाउन ढिलो गर्न नहुने बताए । उनले तातोपानी र रसुवागढी नाका पूर्ण संचालनमा ल्याउन सक्ने हो, भने पेट्रोलियम पदार्थको अभाव केहीहद सम्म समाधान हुने दावी गरे ।

प्रतिक्रियाहरु