डा’साबको ‘नई शक्ति’ – टीका दत्त शिवा

२०७२ कार्तिक १७ गते, मंगलवार

संविधान आफैं जारि गर्ने, पछिबाट जलाउने ! सिके राउत र मधिसेलाई उचाल्दै जातिय विखण्डन गर्न उक्साउने, नाकाबन्दीलाई समर्थन गर्ने डा’साबले हज्जारौं सहिद, अपांग, वेपत्ताहरुको त्यागको इतिहास बोकेको पार्टीलाई आमा थोत्री भइन अब ‘नइ आमा’ चाहियो भन्दै निर्लज्ज नाङ्गै हिडेको जस्तो लाग्यो । के नई शक्तिमा मान्छे मंगलग्रहबाट झिकाउने हो ? कि यहींका नेपालीलाई नयाँबाटोमा डोर्याउने हो ? नयाँ बाटोमा डोर्याउने हो भने कसले रोकेको थियो डा’साबलाई ? मान्छे उही, विचार उही, भ्रष्ट्राचार उही (स्वयम डा’साब कहाँबाट प्रायोजित छन, रंगी विरंगी लुगा लगाउन देखि फ़ाइफ़स्टार होटेलमा समिनार गर्न?) तर नाम मात्रै ‘नई शक्ति’को अर्थ के हो ?
पार्टीको सर्वोच्च पदमा पुग्ने, त्यहि पार्टीले प्रधान मन्त्री समेत बनाउने तर जहिले पनि लालची जजमाने पुरेत झैं असन्तुष्ट रहने । सौता (प्रचण्ड) को रिसले बुढा (देश) को काख विगार्न कुनै कसर बाँकी राखेको पाइएन । नेपाललाई हडप्ने भारतको कुटील चाललाई सघाउन ऐन वखतमा धोती लगाउदै संविधान जलाउनसम्म तम्सिने डा’साबको भिजन सबैले बुझे – यो त राष्ट्रघात हो !
मार्क्सवादको विरुद्दमा ‘नई शक्ति’को खोजि भएको हो भने पहिला मार्क्सवादलाई खण्डन गर्नुपर्थ्यो । संसारलाई परिवर्तन गर्न सक्ने विचार हो भने त्यसको पुष्टी हुनेगरि ग्रन्थ लेख्नु पर्थ्यो । नई विचार र शक्ति त्यहाँबाट जन्मिनु पर्थ्यो । आफुले भ्रष्ट्राचार गर्दिन भन्ने हिसिलाजीले संसार मै गन्हाउने गरि भ्रस्त्राचार गरेर थुपारेको अकुत अदृस्य सम्पति उडाउदै सेमिनार, दौडाहा आदि गर्ने डा’साबले बुझे के हुन्थ्यो भने नेता त्यसलाई भनिन्छ जसलाई भरोसा गर्न सकिन्छ । त्यो भरोसामा कुठाराघात भैसकेपछि सिधासाधा जनताको मन भाँच्चीसकेको छ, फुटेको शिशा झैँ टुटिसकेको छ – अब शायद नै जोडिन्छ ।
मार्क्सवाद वर्ग संघर्षमा आधारित छ तर डा’साबले त्यसलाई जात संघर्षमा परिणत गरिदिनु भयो । समाजलाई झुण्ड-झुण्ड जातका नाममा जंगली स्याल, भेडीको बथानमा परिणत गरिदिनु भयो र अधिकारको नाममा शिकारको एक लाप्टोमा झुण्डलाई लुछाचुंड गर्न छोडीदिनु भयो । डा’साब जस्ता हतास मनस्थितिको उपज हो ‘नई शक्ति’ जो नेपालीहरुलाई कुकुरलाई झैँ सुखेको हड्डीका निम्ति लडाएर आत्मरति लिन चाहन्छन ।
वर्ग संघर्षमा विश्वास गर्ने माओवादीलाई जातिय संघर्षमा धकल्ने सुत्रधार नै डा’साब हुन । १२५ समुदाय भएको नेपालमा आफ्नो लिपि भएका समुदायहरु १७ वटा छन् जसलाई डा’साबले स्वायत्त राज्य दिनुपर्छ भनेका छन् । त्यस मध्ये ५७ वटा आ-आफ्नै भाषा भएका समुदाय छन । यिनीहरुलाई स्थानीय निकायमा स्वायत्तता दिनुपर्छ भनेका छन । कुनै पनि समुदायको उलेख्य वा बहुमत नभएको कुनै पनि प्रदेश यसरी विभाजन गरिंदा समस्याको समाधान हुन्छ ? यो उनको अदुरदर्शिता हो ।
मधेसीहरुको मुद्दा गरिबी, अशिक्षा, जातीय भेदभाव बाहेक ‘मधेसी’ भनेर गरिने भेदभाव र अपमान हो जसलाई कानूनमा कडा सजायको व्यवस्था गरेर मात्रै हल गर्न सकिन्छ । तर डा’साबले मधेसका फांट जति सबै तथाकथित मधेसीहरुलाई छुट्टयाउन लागि परेका छन् । के यसले उनीहरुले भोग्नु परेको वास्तविक अपमान र पिडालाई सम्वोधन गर्न सक्छ ? यहाँ डा’साब अर्को आत्मघाती र भारत परस्त अभियानका मतियार बनेका छन ।
त्यसैगरी राज्यबाट अपहेलित जातीय भेदभावका आधारमा सबैभन्दा पछाडी परेका समुदायहरुको समस्या सामाजिक भेदभाव हो जबकि डा’साबले त्यसलाई राजनैतिक आरक्षण ‘विशेसाधिकार’ दिएर समाधान गर्न सकिन्छ भनेका छन् ।
यहाँ समस्या सामाजिक छ, तर तथाकथित ‘दलित’ बनाएर मान्छे नै हुन् नदिई आरक्षण र भिखमा राजनैतिक पदको लालच देखाउदै सदियौंसम्म भेदभाव टिकाई राख्ने षडयन्त्र डा’साबले गरेका छन् ।
जातिय आरक्षण स्वयं भारतमा समेत असफल हुँदै गएको छ । गुजरातमा पटेलहरुको आन्दोलन, भारतको सर्वोच्च अदालतले हालसालै आरक्षणको विषयमा बोलेको कुराबाट समेत पुष्टि भैसकेको छ भने भारत कै मतियार डा’साब किन त्यहि बाटोमा हिडदै छन् र देशलाई दिर्घकालिन द्वन्दमा फसाउदै छन ?
यी सिद्धान्त मार्क्सवादमा आधारित छ भने स्वयं मार्क्सले किन वर्ग संघर्ष भन्दा जात संघर्ष महत्वपूर्ण हो भनि ब्याख्या गरेनन ?
यी बाहेक, डा’साबले संविधानमा हस्ताक्षर गरेका हुन् र उनले भन्दै आएका हुन् कि जे जति उपलब्धि प्राप्त भयो त्यसलाई संस्थागत गर्दै अन्य मागहरु क्रमसः पुरा गर्दै जानुपर्छ ।
यो अभिव्यक्ति उनले संविधान जारि गर्नु भन्दा अगाडीसम्मको हो । यस हिसाबले उनले कम्तिमा पनि यो संविधान लागु गराउन हरसम्भव प्रयास गर्नु पर्दथ्यो । तर उनले भारतका एजेन्डालाई पारित गराउन नसकेको छटपटीमा तत्काल मधेसीहरुलाई उराल्न गए र आज देशले यस्तो अवस्था भोगी रहेको छ ।
यसबाट स्पष्ट हुन्छ कि उनी आफुलाई अनुकुल हुने तरिकाले बोल्छन, आफ्नो अस्तित्व जोगाउनका लागि जे पनि गर्न तयार छन । आफ्नो अभिस्ट पुरा गर्न देशलाई तहस नहस बनाउन पनि तयार छन । मनोरोगी झैँ !
अहिले भारतको संलग्नता स्पष्ट रुपमा देखिरहंदा जब देश नै रहदैन भने डा’साबको तथाकथित ‘नई शक्ति’ के का लागि हो ?

प्रतिक्रियाहरु