चीनले एक हजार मेट्रिक टन इन्धन पठाउने

२०७२ कार्तिक ७ गते, शनिबार

काठमाडौं,७ कार्तिक । चीनले नेपाललाई एक हजार मेट्रिक टन इन्धन अनुदान सहयोगस्वरुप मंगलबार पठाइदिने भएकाे छ । भारत भ्रमणका गएका उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापालाई भारतीयपक्षले नाकाबन्दी नखोल्ने जनाउ दिएपछिचीनबाट मंगलबार रसुवा–केरुङ नाका हुँदै हजार मेट्रिक टन इन्धन नेपाल भित्रन लागेको हो । ‘प्रधानमन्त्री र चिनियाँ राजदूतबीच भएको सहमति बमोजिम चीनले पहिलो चरणमा अनुदानस्वरुप हजार मेट्रिक टन इन्धन नेपाल पठाउन लागेको हो’, प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो, ‘इन्धन आयातको विस्तृत सम्झौताका लागि आइतबारै सरकारको उच्च टोली बेइजिङ जाने कार्यक्रम छ ।’
भारतले संविधान संशोधन गरी आफ्ना सर्त पुरा गरेमात्र नाकाबन्दी खोल्ने जनाउ दिएपछि आक्रोसित प्रम ओलीले आयल निगमलाइ चीनको सिगात्से जान निर्देशन दिएको थियो।
प्रधानमन्त्री ओलीको उपस्थितिमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रमा छलफल भएकै दिन मंगलबार राति नेपाल आयल निगमको ६ सदस्यीय टोली चीनको सिगात्से गएको थियो ।
चीनले पेट्रोलियम र ग्यास दिने सहमति जनाएपछि विस्तृत सम्झौतका लागि आइतबारै नेपालबाट उच्चस्तरीय प्रतिनिधि मण्डल चीनको बेइजिङ जाने भएको छ। अर्थ, वाणिज्य तथा आपूर्ति र परराष्ट्र मन्त्रालयको उच्चस्तरीय सरकारी टोली इन्धनको आयातका लागि सम्झौता गर्न आइतबारै बेइजिङ जान लागेको हो ।
नेपाल र चीन सरकारको संयुक्त पहलमा खुलाइएको सो नाकाको सडकमा पुनः पहिरो खसेर थुनिएपछि त्यसलाई खुलाउन दुबै पक्षका अधिकारी लागेका छन् ।
चीन र नेपाल दुबैतर्फका कर्मचारी र मजदुरले पहिरो हटाउने काम सम्पन्न भएमा मंगलबारै केरुङ नाकाबाट इन्धनका ट्यांकर नेपाल छिर्ने बताइएको छ ।

प्रतिक्रियाहरु