दसैंको लागि च्याङ्ग्रा ल्याइँदै

२०७२ आश्विन १८ गते, सोमबार

काठमाडौं, १८ असोज । नेपाल खाद्य संस्थानले तराईको समस्याले पर्याप्त खसी-बोका संकलन गर्न नसकेपछि च्याङ्ग्राको संख्या बढाउने भएको छ ।संस्थानले यस वर्ष १ हजार च्याङ्ग्रा काठमाडौं ल्याउने भएको छ । यसअघि ५ सयमात्रै खसी-बोका ल्याउने तयारी भए पनि तराईको अप्ठेरो स्थितिका कारण च्याङ्ग्रा धेरै ल्याउन लागिएको हो । संस्थानले च्याङ्ग्रा किन्न पनि सुरु गरिसकेको छ । मुस्ताङमा च्याङ्ग्रा खरिदका लागि संस्थानका अधिकारी पुगिसकेका संस्थानका प्रवक्ता खनालले बताए । ‘तराईको बन्द अझै केही दिन लम्बिने देखिएमा सम्भव भएसम्म च्याङ्ग्राको संख्या अझै बढाउँछौं, खनालले भने ‘हामीलाई तराईको बन्दले खसी-बोका संकलनमा अप्ठेरो भए पनि च्याङ्ग्रा धेरै ल्याउन प्रयत्न गरिरहेका छौं ।’
तराई मधेसमा जारी बन्द र भारतीय नाकाबन्दीका कारण यस वर्षको दशैंमा पर्याप्त खसी-बोका ल्याउन समस्या पर्ने भएको हो । खाद्य संस्थानले तराईमा संकलन प्रभावित भएकाले यसअघिको योजना अनुसार अब उल्लेख्य संख्यामा खसी-बोका काठमाडौं ल्याउन नसकिने बताएको छ । यसको विकल्पमा हिमालपारिको मुस्ताङबाट च्याङ्ग्राको संख्या थपेर काठमाडौं ल्याउने तयारी गरिएको हो ।
अहिले हटौंडामा मात्र खसी-बोकाको संकलन भइरहेकाले कति संख्यामा ल्याउन सकिन्छ भन्ने निक्र्यौैल नभएको खाद्य संस्थानका प्रवक्ता श्रीमणिराज खनालले बताए ।
‘नेपालगञ्ज, लाहान लगायतका क्षेत्रमा खसी-बोका संकलन सुरु हुन सकेको छैन ।’ प्रवक्ता खनालले भने, ‘अहिले खसी-बोका संकलनको काम हेटौंडामा मात्र भइरहेकाले लक्ष्यअनुसार खसी-बोका ल्याउन कठिन हुने देखिएको छ ।’
तराईको बन्द कहिले खुल्ने भन्ने पनि अनिश्चित भएकाले खसीबोका लक्ष्यअनुरुप ल्याउन समस्या परेको उनको भनाइ छ । संस्थानले यसवर्ष दशैंका लागि २५ सय खसीबोका ल्याउने तयारी गरेको थियो । अझै पनि १५ सय खसी-बोका ल्याउने संस्थानको योजना छ ।

प्रतिक्रियाहरु