तराईको जनजीवन अस्तव्यस्त

२०७२ आश्विन ४ गते, सोमबार

काठमाडौँ, ४ असोज । नयाँ संविधान जारी भएपनि तराईका जिल्ला भने बन्दले आक्रान्त बनेका छन् । नयाँ संविधानमा आफ्ना माग नसमेटिएको विरोधमा मधेसी केन्द्रीत दलहरुले गर्दै आएको लगातारको बन्दले तराईका जिल्ला प्रभावित भएका हुन् । बन्दकै क्रममा केही जिल्लामा प्रदर्शन उग्र बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यू समेत जारी गरेको छ । वीरगन्जमा भदौ १४ गतेबाट जारी गरिएको कर्फ्यु अझै हटाइएको छैन । संविधान घोषणा भएसँगै मधेसी मोर्चाले प्रदर्शन चर्काएका कारण स्थानीय प्रशासनले कर्फ्युको समय समेत बढाएको छ ।
प्रशासनले सोमबार बिहान ७ देखि ९ बजेसम्म कर्फ्यु हटाएर पुनः जारी गरेको छ । वीरगन्जको माईस्थानमा प्रहरीले चलाएको गोली लागेर आइतबार पर्सा पकहामैनपुरका शत्रुघन पटेलको मृत्यु भएपछि सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । पटेलको शव नारायणी उपक्षेत्रिय अस्पतालमा राखिएको छ ।
यसैबीच जनकपुरमा मधेसी मोर्चाले आज बिरोध प्रदर्शन गर्ने तयारी गरेपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । जनकपुरका विभिन्न मुख्य चोकहरुमा समेत निशेधाज्ञा जारी गरिएको छ ।
यस्तै स्थानीय प्रशासनले कैलालीको धनगढीमा सोमबार दिउँसो ११ बजेदेखि ५ बजेसम्म कर्फ्यु जारी गरेको छ भने टीकापुरमा बिहान ५ देखि १२ बजेसम्म कफ्र्यू खुकुलो पारेको छ ।
धनगढीमा भदौ ८ गतेदेखि र टीकापुरमा ७ गतेदेखि लगातार कर्फ्यु लगाईंदै आएको छ । संयुक्त मधेशी मोर्चाले आह्वान गरेको तराई बन्द गत साउन २९ गतेबाट जारी छ ।
त्यसैगरी थरुहट संघर्ष समितिले गत साउन २६ गतेदेखि बन्द आह्वान गर्दै आएको छ । मोर्चाको बन्दका कारण मध्य तराईका सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सालगायका जिल्लाको जनजीवन कष्टकर बन्दै आएको छ ।
त्यस्तै थरुहट संघर्ष समितिको आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बांके लगायतका जिल्ला प्रभावित रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु