धोकेबाज प्रचण्डलाई खुला पत्र – धनबहादुर चन्द

२०७२ भाद्र १ गते, मंगलवार

कमरेड प्रचण्ड, तपाईलाई हिजो आज सायद झल्झली याद आउँछ होला पुराना ती दिनको । जतिबेला हजारौं मान्छेहरु तपाईको कोटेशन अगाडि नभनी भाषण गर्दैनथे । सयौ मान्छेहरु तपाईको कोटेशन नराखी लेख लेख्दैनथे । नेपालका गाउँ गाउँमा मात्र होइन, विश्वका कुनाकुनामा तपाईका गुणगान गाइन्थे । तपाईलाई विश्वक्रान्तिका महानायकको विम्व दिइएको थियो । चर्चै चर्चा, गुणगानै गुणगान सर्वत्र । जसले तपाईमा अदभूत र अन्धविश्वास गरे, तिनले तपाईलाई साँच्चिकै देवत्वकरण नै गरेका थिए । त्यो बाह्य मनबाट मात्र होइन, हृदयदेखि नै गरेका थिए । अर्कोतिर केही मान्छेहरुले तपाईलाई राक्षसीकरण पनि गरेका थिए । तपाईका बारेमा अनगिन्ती भ्रमहरु फैलाइएका थिए । ‘हत्यारा’को सङ्गीन आरोप लगाइएको थियो । विकसित एनिमेशन प्रविधिको प्रयोग गरेर तपाईका लामा लामा दाह्रा नङ्ग्रा सहितको राक्षसी तस्विर भएको भिडियो पनि बनाइएको थियो । तपाईलाई जिउँदै मान्छेका मासु खाने क्रूर राक्षस भनिएको थियो । तपाईको टाउकाको मुल्य घोषणा गरिएको थियो । तपाईलाई समात्न र हत्या गर्न नेपाली शासकहरु मात्र होइन, अमेरिकी साम्राज्यवादले समेत करोडौं डलर नै खर्च गरेको थियो नेपाली सेना मार्फत । सरकारीदेखि निजी संचारमाध्यामले सधै सधै तपाईलाई ‘आतङ्ककारीको नाइके’ भन्दै विद्रुप बनाउने गरी प्रचार गर्थे । तर, कस्तो विडम्वना है, त्यत्रो ताकत, प्रविधि, बल लगाउँदा पनि त्यो प्रचारले, टाउकाको मुल्य घोषणाले, विकसित युद्ध प्रविधिदेखि सञ्चार प्रविधिले समेत तपाईप्रति जनताको माया भने कहिल्यै सिध्धिएन । तपाई जनताको नजरमा भने साँच्चिकै नायक नै रहनुभयो । तपाईलाई भारतदेखि रोल्पा, रोल्पादेखि भारत बोकेर पुर्याउने जनता कार्यकर्ताहरुले बचाइराखे आँखाको नानी झै गरी । रोल्पाली जनताका घरआँगनमा तपाई बस्दासम्म तपाई क्रान्तिको महानायक र मुक्तिदाता नै रहनु भयो । तीब्र युद्धका बीच पनि तपाई सुरक्षित रहनुभयो । आफ्नो मुटुभन्दा पनि बढी माया गरेर तपाईलाई छाम्न चाहने,हेर्न चाहने र तपाईलाई देख्दा खुसीले आँशु झार्ने जनता, कार्यकर्ता र नेता थिए । तर, कस्तो विडम्वना है आज । तपाई के त्यही मान्छे होला र भन्ने प्रश्न गर्नुपर्ने स्थिति छ । जनता आज तपाईलाई मायाले होइन, घृणा गरी गरी हेर्न आउँछन् । जनता तपाईलाई हेरेर खुसीले होइन, रिसले आँशु खसाल्ने भए । त्यत्रो साम्राज्यवादी युद्ध र सञ्चार प्रविधिले सिध्याउन नसकेको तपाईलाई आज सजिलै सिध्याइयो । तपाईको कोटेशन राखेर लेख लेख्ने, तपाईको कोटेशन विना भाषण नगर्नेहरु आज घृणा गर्ने भए ।
कमरेड प्रचण्ड, तपाईलाई गरेको माया तपाईको भौतिक शरिरलाई थिएन । तपाईको ‘प्रचण्ड’ नामप्रति दर्शाइएको माया थिएन त्यो । त्यो त तपाईले बोकेको
एजेण्डाप्रति थियो । जनताका लागि लड्ने तपाईले गरेको प्रतिबद्धताका लागि थियो । तपाई भोेकेभोकै जनताका लागि दिनरात लडिरहनुभएको छ भन्ने भएर त्यो माया र अदभूत विश्वास जन्मिएको थियो । र, तपाई साँच्चिकैको मुक्तिदाता अनि क्रान्ति नायकका रुपमा स्थापित हुनुभएको थियो । तपाईको समर्पण भाव, तपाईको त्याग भाग अनि तपाईको विचारको उचाइले गर्दा तपाईलाई देखेर मान्छेहरु खुसीले आँशु झार्थे । तपाईको अभियानबाट एक दिन शोषण रहित समाज स्थापित हुन्छ, समानतामा आधारित राज्य जन्मिन्छ, भोकानाङ्गा, उत्पीडित, किसान, मजदुर, ज्यामी, दलित, मधेसी, जनजातिको अनपढ छोरा पनि त्यो राज्यको उच्च तहमा पुग्नसक्ने शासन व्यवस्था ल्याउन तपाई लाग्नुभएको छ भनेर मानिसहरु तपाईप्रति गर्व गर्थे । सोच्दा पत्यार लाग्दैन आज । तर कमरेड , तपाईको त्यो प्रतिवद्धता, तपाईको त्यो हुँकार खोक्रो रहेछ । तपाईका बारेमा जनताको घरआँगनमा सुनाइएका ती कथाहरु र तपाईका बारेमा गरिएका कल्पनाहरु सबै गलत रहेछन् । मलाई यो कुरा उच्चारण गर्न पनि साँच्चिकै अप्ठेरो महशुस भइरहेको छ । साँच्चिकै भनौ कमरेड, तपाई त्यस्तो हुँदै हुनुहुन्थेन हिजो ? के मित्थ्या प्रचार गरिरहेका थिए र तपाईका पछि लाग्नेहरुले ? के तपाईलाई अति देवत्वकरण गरिएको थियो ? के तपाईले आफूलाई नेपालको प्रधानमन्त्री बनाउन वा राष्ट्रपति बनाउनका लागि मात्र जनताका छोराछोरीहरुलाई युद्धमा होमिन आदेश दिनुभएको थियो ? के तपाईलाई अहिलेजस्तै महंगा महंगा सामान प्रयोग गर्ने, ठूला ठूला महल ठड्याउने र चर्चामा छाइरहने धोको थियो युद्धकालमा पनि । के बर्कोले छोपेको बिरोलोले अहिले आएर म्याउ गरेको हो र ?
कमरेड, तपाईले संसदीय व्यवस्था भनेको खसीको टाउको राखेर कुकुरको मासु बेच्ने ठाउँ हो भन्दै यो श्रमजीवी जनताका लागि न्याय गर्नै नसकिने व्यवस्था हो भनेर अन्तिम निष्कर्ष निकालेको होइन र ? तपाईले घुसखोरी, भ्रष्टाचारी, कमिसनखोरी दलाल राज्यसत्तालाई ध्वस्त गरेर जिरोमा झारी न्याय, समानतामा आधारित राज्य स्थापना गर्ने भनेको होइन र ? जनताले आफै आफ्नो प्रतिनिधि छान्न पाउने, त्यसले राम्रो काम गरेन भने फिर्ता बोलाउन पाउने, जनता नै सर्वअधिकार सम्पन्न हुने राज्य बनाउने भनेको होइन र ? धनी र गरिबको खाडल पुरेर राज्य त्यसको अभिभावक मात्र बन्ने भनेको होइन र ? त्यही भनेरै हजारौले आफ्नो जीवन एक आदेशका भरमा बलिदान गरेका होइनन र ?
तर, कमरेड तपाई त अहिले न्वारानदेखिको बल लगाएर पुरानै संसदीय व्यवस्थालाई बचाउन लागिरहनु भएको छ । तपाई त अहिले जोडतोडले पुरानो संसदीय व्यवस्थाको सुधारमा लागिरहनुभएको छ । हिजो माओवादीको म भन्ने अक्षर सुन्दा समेत घृणा गर्ने केपी ओलीलाई जोडतोडले प्रधानमन्त्री बनाउन लाग्नुभएको छ । राम्ररी आफू वरिपरिको परिस्थिति बुझ्न नसक्ने र आफूले के बोल्ने भन्ने कुराको भेउ नपाउने अवस्थाका सुशिल कोइरालालाई देशको उच्च पद राष्ट्रपति बनाउन लाग्नुभएको छ । अनि आफू यो व्यवस्था जोगाएको जस सबै आफूले लिन निकै मेहनत गरिरहनुभएको छ । किन ? हिजोआज अजय सुमार्गीहरु जस्ता दलाल पुँजीका प्रतिनिधि पात्रहरु तपाईका सल्लाहकार छन् । अर्को देशको खुफिया एजेन्सीका लागि काम गर्ने अमरेश सिंहहरु तपाईका कफी पार्टनर छन् । हजारौको रगतबाट बनेको जनमुक्ति सेनालाई तपाईले रुँदै रुँदै घर जान बाध्य पार्नुभयो । युद्ध लडेको तपाईको पार्टीको केन्द्रीय सदस्य तथा कमाण्डरहरु अहिले नेपाली सेनाको जागिर खाइरहेका छन् । तपाईले त्यो हतियारमा जनताको त के आफ्नै सहकर्मी अरु नेताहरुको सरोकार नै छैन भने जसरी मिल्काइ दिनुभयो । केही हतियार त तपाईले जनमुक्ति सेना क्यान्टोनमेन्टमै रहेका बेला बेच्नु पनि भयो । सायद एउटा सामान्य मान्छेले पनि सायद आफ्नो यो इतिहास भुल्न सक्दैन होला । तपाई त हिजो म त्यस्तो छँदै थिइन भने झै गरी अहिले संसदीय व्यवस्थाको चर्को नायक हुन खोज्दैहुनुहुन्छ किन ? तपाईले पछिल्लो चरणमा केपी ओलीलाई प्रधानमन्त्री बनाउन १६ बुँदे सहमति नै गर्नुभयो । यो सहमतिले ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुल्ने बाहेक अरु केही पनि गर्दैन ।
कमरेड प्रचण्ड, मलाई यो सहमति गर्ने अरुसँग त्यति गुनासो र विमती छैन । त्यो किनभने सहमति गर्ने एक जना १२ बुँदे सहमतिकै विरोधी थिए । अर्का एक जना २०६२÷६३ जनआन्दोलनमा गणतन्त्रको कुरा गर्दा नेपालमा गणतन्त्र ल्याउनु भनेको गोरु गाडामा चढेर अमेरिकामा जानु भनेको जस्तै हो भन्नेर बल्खु दरबारमा भाषण गर्दथे । गुनासो छ त तपाईसँग मात्र । तपाईले देखाएको सपनामा विश्वास गरेर दसौ हजार बलिदान गरेका थिए । लाखौ जनता १० वर्षे जनयुद्धमा गोलबन्द भएका थिए । १६ बुँदे सहमति गर्नेबेला के तपाईलाई १० औं हजार बलिदान र बिभिन्न चरणका नेपाली जनताले गरेका आनदोलनको
याद भएन ? जनयुद्धको बेला उठाएका क्रान्तिकारी भूमीसुधार, संसदीय व्यवस्थालाई ध्वस्त गर्ने हरेक वर्ग, क्षेत्र, जाति, भाषाभाषीको मुक्त नयाँ नेपालको निर्माण गर्ने भनेर तपाईले गरेको भाषणको पनि तपाईलाई मध्यरातमा याद भएन ? या त मध्य रातमा तपाई निदाएर जनताको अधिकारमाथि बहोसमा सम्झौता गर्नुभयो ? यो प्रश्न तपाईलाई नेपाली जनताले गर्नेछन् । तपाईले कसरी नेपाली जनताले बिभिन्न चरणमा गरेका आन्दोलन र जनताका एजेण्डा छोड्न पुग्नुभयो र संसदवादीसँग हात मिलाउन जानुभयो । उहिले जनयुद्ध सुरु भएका बेला मेरा बुढा बाले भन्ने गर्थे, प्रचण्डले संसदवादी धारमा जानका लागि
कार्यकर्ता उत्पादन गर्नका लागि झापा विद्रोहबाट सिकेर त्यही बाटो अबलम्बन गर्छन भन्थे । तर म साह्रै क्रान्तिकारी । मेरा बा सँग विमती भइरहन्थ्यो । तर, इतिहासले फेरि एकचोटी कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्ने कुरा पुष्टि गरेको छ ।
कस्तो विडम्वना तपाईले जनताका हरेक एजेण्डा छोड्दै जानुभएको छ । छोड्दै जानु भनेको राजनीतिमा हार्दै जानु हो । जतिबेला प्रतिक्रियावादी राज्यसत्तामा धावा बोल्नुहुन्थ्यो, तहसनहस पार्नुहुन्थ्यो र जित्नुहुन्थ्यो, त्यतिबेला विरोधीहरुले तपाईलाई कुनै राक्षसजस्तो भयानक वस्तुको रुपमा पत्रपत्रिकामा चित्रण गर्दथे । तपाईले आज हार्दै जानुभएको छ, विरोधीहरुले ठूलाठूला मिडिया मार्फत प्रचण्डका साहसिक निर्णय भन्दै गुणगान गाइरहेका छन् । विज्ञानको नियममा त जित्ने मानिस पो साहसी हुन्छ । हार्ने मानिस कसरी साहसी ? जसले समाजमा चलेको प्रवृतिभन्दा छुट्टै तरिकाले चलेर समाज बदल्छ, त्यो पो साहसी । तपाई शान्तिप्रक्रियामा आएपछि सबै मोर्चा हार्नुभयो । तपाई कसरी साहसी हुनुभयो ? यदि तपाईलाई साहसी भनेर उचाल्ने मान्छेका पछाडि लाग्ने हो भने एसएलसीको रिजल्टमा फेल हुने सबै विद्यार्थीलाई शिक्षक र अभिभावकले साहसी भन्ने ? के विज्ञानले त्यस्ता मान्छेलाई साहसी भन्छ ? कदापी भन्दैन । साहसिक निर्णयले त संसारमा समाजको विकास भएको छ । तर, यहाँ तपाईको साहसिक निर्णयले समाज पछाडि धकेलिएको छ । तपाईलाई पनि थाहा होला हामीले पहिलो विश्वयुद्ध र दोस्रो विश्वयुद्धमा स्थल लडाइँमा संसारलाई हराएर हामी साहसी र विर भएको हो । न कि हारेर । तपाई हार्दै जानुहुन्छ अनि विरोधीले तपाईलाई साहसी भन्छन् । तपाई पनि त्यही भ्रममा बुर्लुक्क उफ्रिनुहुन्छ । दलालको तर्कमा थप उत्साहित हुनुहुन्छ ।
यदि तपाईले जनताको एजेण्डा आफ्नो सम्पतीसँग साट्नुभएको हो भने जनतालाई बताइदिनुपर्यो । यदि तपाईले बाँच्नका लागि यी सबै एजेण्डा छोड्नुभएको हो भने माक्र्सवादको आधारभूत नियम भनेको आक्रमणपछि मात्र रक्षा हुन्छ । न कि आत्मसमर्पणले । बजारमा हल्ला सुनियो तपाईले सक्रिय शासकीय स्वरुपमा नोट अफ डिसेन्ट लेख्नुभयो रे । अब तपाई त्यही एजेण्डा लिएर जनतामा जाने रे । तर, नेपाली जनतालाई राम्रोसँग के थाहा छ भने एमालेले २०४७ सालको संविधानमा नोट अफ डिसेन्ट लेखेर सबै भन्दा ठूलो रक्षक आफै बन्यो भनेर । १६ बुँदेपछि तपाईले पनि जोडतोडले त्यसको डिफेन्स गर्दै हुनुहुन्छ र कार्यकर्तालाई १६ बुँदेको रक्षा गर्न निर्देशन पनि दिँदै हिड्नुभएको छ । यस्तो लाग्छ कि त्यो १६ बुँदेमा तपाईको नोट अफ डिसेन्ट छँदै छैन । फेरि चार दलका शीर्ष चारै नेता यसको कडा रक्षामा उत्रनुपर्ने हो उनीहरु उत्रेकै छैनन । केवल तपाई आफ्नै जस्तोगरी उत्रनुभएको छ किन ? अन्तमा कमरेड प्रचण्ड, एकजना अँग्रेजी लेखकले भनेका थिए कि गरिब जतिसुकै आपत विपतको बेला पनि आशावादी हुन्छ । त्यसैले गरिब नेपाली जनता पक्कै आशावादी छन् । त्यो तपाईबाट होइन । अरु कोही जनताको एजेण्डा बोक्ने क्रान्तिकारी जन्मेला भनेर ।

प्रतिक्रियाहरु