पाल्पा दरबार सङ्ग्रहालय बन्ने

२०७२ श्रावण २५ गते, सोमबार

काठमाडौँ , २५ साउन । पाल्पाको ऐतिहासिक थलो तानसेनस्थित ‘पाल्पा दरबार’ अब सङ्ग्रहालय बन्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले सात कर्मचारीको दरबन्दी स्वीकृत गरेपछि सङ्ग्रहालय बन्ने भएको हो । जिल्ला प्रशासन कार्यालय पाल्पाको सर्वपक्षीय भेलाले एक महिनाभित्र दरबार क्षेत्र निर्धारण गर्ने कार्यदल गठन गरेको छ । झन्डै ११० वर्ष पुरानो सुन्दर र काष्ठकलायुक्त ऐतिहासिक पाल्पा दरबारको पुरानै शैलीमा निर्माण गरिएको थियो ।
दरबारमा चार तला, चार वटा वुर्जा, दुई वटा बैठक कक्ष, ६७ वटा कोठा रहेकोे छ । विसं २०६२ मा तत्कालीन माओवादी आक्रमणमा दरबार पूर्णरुपमा ध्वस्त भएको थियो । विसं १९६३ मा तत्कालीन जनरल प्रताप शमशेरले दैनिक प्रशासनिक कार्य सञ्चालनका लागि सो दरबार निर्माण गराएका हुन् ।
राणा शासनको अन्त्य पछि २०१५ सालदेखि ऐतिहासिक दरबारलाई तत्कालीन सरकारले सरकारी कार्यालयका रुपमा परिणत गरेपछि करिब एक दर्जन कार्यालय रहँदै आएका थिए ।निर्माण प्रक्रियामा पुरानो दरबारका जस्तै काठ, इट्टा, रङ्गरोगन पुरातात्विक महत्वका वस्तु नभत्काइ राष्ट्रिय भवनको गुरुयोजना पद्धतिअनुसार दरबार निर्माण भएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । दरबार ध्वस्त भएपछि जिल्ला प्रशासन, जिल्ला विकास समिति र राष्ट्रिय अनुसन्धान कार्यालयले परिसरभित्रै टहरा निर्माण गरी कार्यालय सञ्चालन गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु