क्षमताका आधारमा राजदूत नियुक्ति हुन्छ : पाण्डे

२०७२ श्रावण १५ गते, शुक्रबार

काठमाडौं, १५ साउन । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले राजदूत नियुक्ति व्यक्तिको क्षमताको आधारमा गरिने बताएका छन् ।व्यवस्थापिका संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा श्रम समितिको शुक्रबार बसेको बैठकमा मन्त्री पाण्डेले राजनीतिक नियुक्तिको आधारमा हुने राजदूत नियुक्तिले कुटनीतिकसम्बन्ध बिग्रँदै गएको भन्दै व्यक्तिको क्षमता हेरेर मात्र नियुक्ति गरिने बताएका हुन् ।उनले विदेशमा रहेका नेपालीको हक, हित र त्यहाँको कुटनीतिक सम्बन्ध विस्तार राजदूतको मुख्य कर्तव्य भए पनि अहिलेसम्म त्यसो हुन नसकेको भन्दै दुःख व्यक्त गरे ।
नेपालस्थित कुनैपनि राजदूतले कुनैपनि बेला उच्च ओहोदाका व्यक्तिलाई सहजै भेटवार्ता गर्न सक्ने तर विदेशस्थित नेपाली राजदूतले भने कुनै कर्मचारी, मन्त्री वा अन्य कसैलाई भेट्न नसक्ने वातावरण रहेकाले आचारसंहिता लागू गर्नुपर्ने उनको भनाइ थियो ।मन्त्री पाण्डेले नेपालमा विदेशी कुटनीतिज्ञहरुले मनपरि गरी हिँड्ने वातावरणको अन्त्यका लागि स्वयं राजनीतिक दल जिम्मेवार हुनुपर्ने बताए ।उनले नेपालले राख्ने कुनै पनि कुटनीति सम्बन्धबारे परराष्ट्र मन्त्रालयलाई अनिवार्य रुपमा जानकारी गराउनुपर्छ भन्नेबारे राष्ट्रका जिम्मेवार व्यक्तिसमेत गम्भीर नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।बैठकमा राजदूत नियुक्तिमा भएको ढिलाइ र पासपोर्ट छपाइबारे समितिका सदस्यहरुले आ–आफ्नो धारणा राखेको थिए । समितिले परराष्ट्र मन्त्रालयमा हुने गरेका त्रुटि र कमजोरी सुधार गर्न निर्देशन दिएको छ ।

प्रतिक्रियाहरु