विश्व खाद्य कार्यक्रमको ५ सय ४१ मेट्रिक टन अखाद्य दाल फेला पर्यो

२०७२ असार ७ गते, सोमबार

काठमाडौं,७ असार । बाँकेको खजुरामा संयुक्त राष्ट्र संघीय नियोग, विश्व खाद्य कार्यक्रम डब्लूएफपीको गोदाममा राखिएको ५ सय ४१ मेट्रिक टन दाल खान अयोग्य अवस्थामा फेला परेको छ । भण्डारण गरी राखिएको उक्त परिमाणको दाल गोदाम अनुगमनका क्रममा फेला परेको हो ।
विश्व खाद्यले वितरण गरेका खाद्य सामग्रीहरु गुणस्तरहीन रहेको खबर आउन थालेपछि संसदीय टोलीले आइतबार अनुगमन गर्दा भण्डारण गरेर राखिएको अवस्थामा ५ सय ४१ मेट्रिक टन केराउको दाल कुहिएको अवस्थामा फेला परेको हो । दालमा किरा परेको, कुहिएको र खानै नमिल्ने अवस्थामा रहेको अनुगमनमा सहभागी सभासद सञ्जय गौतमले जानकारी दिए ।
नेपालमा विपत परेका बेला विभिन्न क्षेत्रमा वितरण गर्न भन्दै डब्लुएफपीले खजुराको कपास विकास समितिको गोदाममा दाल भण्डारण गरेर राखेको थियो ।सो दाल टर्कीबाट खरिद गरेर भारतीय ठेकेदारमार्फत् नेपाल ल्याइएको हो । डब्लुएफपीको भने दाल खान अयोग्य भएकैले अलग्गै छुट्टयाएर राखेको दावी गरेको छ । गौतम, दलबहादुर सुनार, श्रीप्रसाद जबेगु, खाद्य विज्ञ सुमन धिताललगायतको संसदीय टोलीले अनुगमन गरेका हुन् ।
यसअघि गोरखामा गरिएको अनुगमनमा पनि विश्व खाद्य कार्यक्रमको चामल कुहिएको अवस्थामा फेला परेको थियो । किरा लागेर खान अयोग्य भनिएको अरु ११८ मेट्रिक टन दाल भने अलग्गै राखिएको फेला परेको छ । समितिले गोदाममा सँगै राखिएका ४२५ मेट्रिक टन चामलको नमूना पनि संकलन गरेको छ । बाँकेमा डब्लूएफपीको पाँच खाद्य गोदाम रहेका छन् । जहाँ दश हजार मेट्रिक टन खाद्यान्न भण्डारण गर्ने गरिएको छ । यता, हिजो बसेको मन्त्रिपरिषद बैठकले भने अखाद्य बस्तु वितरण गरेको पाइएमा हदैसम्मको कारवाही गर्ने प्रष्ट गरेको छ ।
सरकारले खाद्य सामग्री परीक्षण गरी कारवाही गर्न कृषि मन्त्रालयलाई निर्देशन दिएपछि आइतबार नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको बैठक बसी वाणिज्य विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई निर्देशन दिएको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेपालको सार्वजनिक ऋण झन्डै २४ खर्ब

२०८१ जेष्ठ ११ गते, शुक्रबार

नेप्से १५.५४ अंकले बढ्यो

२०८१ जेष्ठ ९ गते, बुधबार