एसएलसीको नतिजा सार्वजनिक

२०७२ असार ४ गते, शुक्रबार

काठमाडौँ, ४ असार । परीक्षा नियन्त्रण कार्यालयले एसएलसी परीक्षाको नतिजा सार्वजनिक गरेको छ । कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी नतिजा प्रकाशन गरेको हो । यसवर्ष परीक्षामा ४७ दशमलव ४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । अघिल्लो वर्ष ४३ दशमलव ९२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । यसवर्षको नियमित परीक्षामा पाँच लाख ७४ हजार ६ सय ८५, पुनः परीक्षामा एकलाख ४५ हजार एक सय ८३ तथा प्राविधिकतर्फ तीनहजार दुई सय ८८ सहभागी थिए । परीक्षा गतवर्ष ५ देखि १३ चैतसम्म सञ्चालन भएको थियो । एसएलसीको नतिजा थाहा पाउन एसएमएस, आइभीआर र वेबसाइटमा हेर्न मिल्ने व्यवस्था गरिएको छ । परीक्षा नियन्त्रक विष्णु द्वारेका अनुसार विद्यार्थीलाई नतिजा हेर्न सहज होस् भनेर यो व्यवस्था गरिएको हो । इन्टरनेटको पहुँच नभएकाले एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सक्नेछन् । त्यसको लागि SLC लेखेर एक स्पेस दिएपछि सिम्बोल नम्बर लेखेर ५५६६, १६००, ५००१, ४९४९, ५२२५, ७६७६ मा एसएमएस गर्न सकिने छ ।
यस्तै १६०० मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिनेछ । यसैगरी शिक्षा मन्त्रालयको वेवसाइट www.moe.gov.np मा परीक्षाफल हेर्न सकिने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।
शिक्षा विभागको वेवसाइट www.doe.gov.np र परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेवसाइट www.soce.gov.np मा परीक्षाफल हेर्न सकिनेछ । योसँगै www.slc.ntc.net.np, www.ncell.com.np मा परीक्षाफल हेर्न सकिनेछ । यसवर्षदेखि सुरु भएको प्राविधिकतर्फको प्रवेशिका परीक्षाको नतिजा भने एक साता ढिलो हुने र श्रेणीकरण पद्धतिबाट हुने नियन्त्रक द्वारेले बताए ।
यसैगरी एसएलसीको नतिजामा सबै भन्दा बढी अंक ल्याउनेले ९८ प्रतिशत ल्याएका छन् । ९८ प्रतिशत अंक ल्याउनेको नाम र विद्यालय भने सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु