एनआरएन विश्व सम्मेलन अक्टोवर १४ देखि

२०७२ जेष्ठ २३ गते, शनिबार

काठमाडौँ । अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा हुने ७ औं गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन पालभित्र हुने भएको छ । आगामी विश्व सम्मेलन भूकम्प प्रभावित क्षेत्रमै गएर गर्ने तयारी भइरहेको संघका महासचिव कुमार पन्तले जनाए । गैरआवासीय नेपाली संघको गतआइतवार सम्पन्न पदाधिकारी बैठकले विश्व सम्मेलनको निर्वाचन र समापनबाहेक अन्य कार्यक्रम भूकम्प पीडित क्षेत्रमा गएर गर्ने निर्णय गरेको हो । हामी उद्घाटन कार्यक्रम समेत गोर्खा, सिन्धुपाल्चोक, धादिङ वा नुवाकोटमध्ये एक ठाउँमा गर्ने गरी तयारी गर्ने सोचमा छौं पन्तले भने । विभिन्न देशका गैरआवासीय नेपाली संघले विश्व सम्मेलन ३ महिनापछि सार्न दिएको सुझावलाई भने पदाधिकारी बैठकले अस्वीकार गरेको छ । विश्व सम्मेलनमै महाधिवेशन गर्ने एनआरएन परम्परा हो । संघको विधानबमोजिम महाअधिवेशन तोकिएकै मितिमा गर्ने निष्कर्ष बैठकले निकालेको पन्तले जानकारी दिए । महाअधिवेशनले गैरआवासीय नेपाली संघको अध्यक्षलगायत नयाँ कार्यसमितिको चयन गर्ने छ । गैरआवासीय नेपाली संघले आगामी सम्मेलनको मुख्य एजेन्डा भूकम्प प्रभावित क्षेत्रको पुनर्निमार्णलाई बनाउने भएको छ । एनआरएनले विश्व सम्मेलनमा भूकम्प प्रभावित क्षेत्रको पुनर्निमार्णको कार्यक्रम ल्याउने तयार गरेको पन्तले बताए । ४ दिनसम्म चल्ने सो सम्मेलनको निर्वाचन र समापन कार्यक्रम बालुवाटारमा रहेको निर्माणधीन भवन प्राँगणभित्र पाल टागेर गर्ने तयारी एनआरएनले गरेको छ । यसअघि एनआरएनका सबै विश्व सम्मेलन काठमाडौंका पाँच तारे होटलमा हुँदै आएका थिए । पाँच तारे होटलमा हुने त्यस्ता सम्मेलन निकै खर्चिलो भएको गुनासो एनआरएनभित्रैबाट आउने गरेको थियो । भूकम्पका कारण गैरआवासीय नेपाली संघका विभिन्न देशमा हुने भनिएको राष्ट्रिय समितिको निर्वाचनसमेत प्रभावित भएका छन् ।

प्रतिक्रियाहरु