रु चालीसले परिवर्तन ल्याएको ५८ वर्षे क्षेत्रबहादुरको जीवन

२०७२ बैशाख १० गते, बिहीबार

काठमाडौँ । “अपाङ्गता भएर के भो त मैले मागेर खाएको छैन ढाँटेर खाएको छैन । आफ्नै पौरखले काम गरेर खाएको छु ।” आत्मविश्वासले भरिएको यो भनाइ काभ्रेका अपाङ्गता भएका क्षेत्रबहादुर भण्डारीको हो । करिब दश वर्षअघि मधुमेहका कारण बायाँ खुट्टा गुमाउन पुगेपछि उनी अपाङ्ग बन्न पुगे । एउटा मात्र खुट्टा हुँदा अर्को खुट्टा नक्कली हालेर हिँड्थेँ । तर केही वर्षको अन्तरालमा अर्को खुट्टामा पनि समस्या देखिएपछि त्यो पनि काटेर फ््याँक्नुप¥यो । अहिले उनको दुवै खुट्टा छैन । तर उनी सबलाङ्ग झैँ पत्रिका बेच्ने काम गरेर आफ्नो जीवनलाई डो¥याइरहेका छन् । “आत्मविश्वास चाहिँदो रहेछ”, उनी भन्छन्– “सद्दे मान्छे अचानक अपाङ्ग बन्दा कस्ले सम्हाल्न सक्छ आफूलाई ? मलाई पनि त्यस्तै भएको थियो तर कर्मको खेला यस्तै रहेछ, भोग्नुपर्दो रहेछ ।” उनी नेपाल प्रहरीको पूर्व हवल्दारसमेत हुन् । प्रहरीको जागिरपछि उनी गाडी लाइनमा आए । विभिन्न जिल्लामा बस, ट्रक, लहरी चलाउने गर्थे उनी । त्यसै समयमा उनको श्रीमतीको मृत्यु भयो । “मेरी श्रीमतीको मृत्यु के कारणले भयो भन्नेसमेत थाह भएन । म आउँदा उनको दाहसंस्कारसमेत भइसकेको थियो”–उनले सुनाए ।
दुई छोरा र एक छोरीको जिम्मेवारी उनले जसोतसो पूरा गरिरहेकै थिए । त्यही बेला उनलाई मधुमेहले च्याप्यो र उनले खुट्टा गुमाउन पुगे । भाइको साथमा बसेका भए पनि केही समयपछि नै भाइबुहारीले उनलाई निकालिदिए ।
काभ्रेमा घर र केही खेत भए पनि उनी बेसहरा झैँ बने । छोराछोरीले समेत उनको वास्ता गरेनन् । “अहिले उनीहरु २०÷२५ वर्षका लक्का जवान भएका छन् । कमाउने भएका छन् । तर मेरो बास सडकको भएको छ ।”
घरबाट निकालिइसकेपछि उनी सडकमा आए । दुवै खुट्टा काम नलाग्ने र धेरै हिँडडुल गर्न नसक्ने भएकाले टेकुमा रहेको एउटा रुखलाई आफ्नो वासस्थान बनाए ।
उनले सात वर्षअघिको कुरा स्मरण गर्दै भने– “रुखमुनिको बसाइँका क्रममा एक दिन एक जना बटुवाले भात खानु भनेर मलाई रु ४० दिएर गए । रु ४० ले भात खाने मन लागेन यो पैसाले केही गर्न सकिने अड्कल गरँे र त्यसै दिनदेखि पत्रिका बेच्ने काम सुरु गरेँ ।”

पत्रिका बेच्ने उनको आफ्नै मौलिक शैली छ । उनी पत्रिकाको कुनै शीर्षक पढेर पाठकलाई आकर्षित गर्नेभन्दा पनि देश विदेशका भइरहने साझा समाचारलाई गीत झैँ बनाएर आफ्नै तरिकाले भट्याउँछन् । पत्रिका किन्ने उनका नियमित ग्राहक पनि छन् ।
पहिले टेकुलाई मुख्य थलो बनाएका क्षेत्रबहादुर अहिले भोटेबहाल, त्रिपुरेश्वर, सुन्धारा, क्षेत्रमा पत्रिका बेच्दै हिँड्ने गर्दछन् । ‘पहिले दुई हात र घुँडाले टेकेर हिँड्थेँ’, उनले भने–‘त्यसपछि नायक राजेश हमालका भाइ राकेश हमालको सहयोगस्वरुप प्रदान गरेको ह्विलचियरमा हिँड्न थालेँ ।’ अहिले उनी चारपाङ्ग्रे स्कुटरमा चढेर पत्रिका बेच्न हिँड्छन् । उनलाई युथ आई सर्भिसले सो स्कुटर प्रदान गरेको हो । दैनिक हुने ७०÷८० रुपैँयाको आम्दानीबाट उनी सन्तुष्ट छन् ।
आफ्नो जीवनमा आएको परिवर्तन देखेर मानिससमेत छक्क पर्ने गरेको उनी बताउँछन् । अपाङ्गता भएर पनि स्वावलम्बी जीवन बिताउन थालेका उनलाई समाज कल्याण परिषद्, बैंक अफ एसिया, आई सर्भिस र विभिन्न कविहरुले सम्मान समेत गरिसकेका छन् । ‘सबलाङ्ग मानिस जुनसुकै बेला पनि दुर्घटना भएर अपाङ्ग बन्न सक्छ । तर मानिसले जीवनमा हरेस भने खानुहुन्न । जीवनमा केही गर्न सक्छु भन्ने मनोबललाई दह्रो बनाउन सक्नुपर्छ । अनि मात्र जीवन सहज र नियमित बन्न पुग्छ ।’ आफ्नो सफल जीवनको मूलमन्त्र उनले बताए ।- अन्जली रम्तेल, रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु