एसएलसीको सबै तयारी पुरा

२०७१ चैत्र ३ गते, मंगलवार

काठमाडौँ, ३ चैत । बुधबारदेखि सबै जिल्लामा सुरु हुने एसएलसीको सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ। यस वर्षको एसएलसी परीक्षामा परीक्षामा सहभागी हुन ५ लाख ७४ हजार ६ सय ८५ परीक्षार्थीले आवेदन फारम भरेका छन्। तीमध्ये नियमिततर्फ ४ लाख २६ हजार २ सय १४ विद्यार्थी एसएलसीमा सहभागी हुँदैछन्। एक्जाम्टेडतर्फ १ लाख ४५ हजार १ सय ८३ जना परीक्षार्थी रहेको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।
एसएलसी परीक्षाका लागि प्राविधिकतर्फ ३ हजार २ सय ८८ जना परीक्षार्थीले आवेदन फारम भरेका छन्। यस वर्षको एसएलसीमा नियमिततर्फ २ लाख १२ हजार ५०४ छात्रहरु सहभागी छन्। छात्राको संख्या २ लाख १३ हजार ७ सय १० रहेको छ। त्यसैगरी एक्जाम्टेडतर्फ ५९ हजार २ सय ५३ छात्र र ८५ हजार ९ सय ३० जना छात्रा परीक्षामा सहभागी हुनेछन्। प्राविधिकतर्फ भने छात्राभन्दा छात्रहरुको संख्या बढी रहेको परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ। प्राविधिकतर्फ २ हजार ३७ छात्र र १ हजार २ सय ५१ छात्रा परीक्षामा भाग लिँदैछन्।
एसएलसीका लागि १ हजार ८ सय ६२ वटा परीक्षा केन्द्र निर्धारण गरिएका छन्। सबैभन्दा धेरै काठमाडौंमा ९१ र सबैभन्दा कम मुस्ताङ र मनाङमा १र१ वटा परीक्षा केन्द्र तोकिएको छ। हरेक केन्द्रमा एकजना केन्द्राध्यक्ष रहने गरी १ हजार ८ सय ६२ जना केन्द्राध्यक्ष रहने छन्। सहायक केन्द्राध्यक्ष २ हजार ४ सय ४०, निरीक्षक २३ हजार १४ र कार्यालय सहयोगी ७ हजार ६ सय ९९ जना खटाइने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
परीक्षा केन्द्रको सुरक्षाका लागि २७ हजार ९ सय ३० सुरक्षाकर्मी परिचालन गरिनेछ। एउटा केन्द्रमा १५ जना सुरक्षाकर्मी रहनेछन्। गत बर्ष १० सुरक्षाकर्मी खटाइएको थियो।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु