जुम्लामा कर्णालीकै ठूलो जात्रा सुरु हुँदै

२०७१ श्रावण २६ गते, सोमबार

काठमाडौं ,२६ साउन। आजदेखि कर्णालीकै ठूलो र लामो जात्रा जुम्लामा सुरु हुँदैछ । जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिनदेखि सुरु हुने जात्रा श्रीकृष्ण जन्माष्टमीका दिन मात्रै सकिन्छ ।पहिलो दिन आज गाइजात्रा निकालिन्छ भने भोलि रोपाइँ जात्रा निकालिने जात्रा समितिका अध्यक्ष हरि प्रसाद श्रेष्ठले जानकारी दिए । तेस्रो दिनमा सानो पल्टन, मिम वादशाह र अन्य रमाइला आइटम तथा चौथो दिन २९ गते मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिने उनको भनाइ छ ।
जात्रामा हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय जुम्लाले सुरक्षा व्यवस्था कडा पारेको छ । जात्रामा मानिसको भिड हुने भएकाले अपराधिक कृयाकलाप नियन्त्रणका लागि सुरक्षा व्यवस्था कडा पारिएको हो ।
श्रीकृष्ण जन्माष्टमीसम्म हुने कर्णालीकै ठूलो जात्रालाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्न पोसाकसहित र सदापोसाकमा प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।
जुम्ला बजारका विभिन्न ठाउँमा गस्ती टोली परिचालन गरिएको बताउँदै उनले अपराधिक घटना हुन नदिन बढी मात्रामा सादा पोसाकका प्रहरी परिचालन भएको बताए । जात्रामा सर्वसाधारणको धनमाल चोरी हुने सम्भावना बढी भएकाले पनि सादा पोसाकमा प्रहरी परिचालन गरिएको उनको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु