यसपालिको सगरमाथा आरोहण स्थगित

२०७१ बैशाख १४ गते, आईतवार

काठमाडौं, १4 वैशाख ।सगरमाथामा वैशाख ५ मा आएको भयानक हिमपहिरोमा १३ आरोहण सहयोगी (शेर्पा) को मृत्यु, तीनजना बेपत्ता र ६ जना घाइते भएपछि यसपालिको सर्वोच्च शिखर सगरमाथा आरोहण स्थगित भएको छ। आरोहण सहयोगी (शेर्पा) को आरोहण स्थगनपछि विदेशी आरोहीहरू पनि यसपालि आरोहण नगर्ने भन्दै सगरमाथा आधारशिविरबाट धमाधम फिर्ता हुन थालेका छन्।सगरमाथा आरोहण व्यवस्थापन गर्ने कम्पनीहरूका अनुुसार डेढ दर्जन दलले यसपालि शिखर नजाने निर्णय गरिसकेका छन्। तीमध्ये केही दल काठमाडौं फर्किसकेका छन् भने केही बाटैमा छन्। ती दलका नेताले आरोहण परित्याग गरेको लिखित जानकारी पर्यटन मन्त्रालयलाई केही दिनभित्रै दिने तयारी गरिरहेका छन्।
‘यसपालि वसन्त ऋतुको सगरमाथा आरोहण लगभग स्थगित भएको छ,’ सांग्रिला नेपाल प्रालिका प्रबन्ध निर्देशक जीवन घिमिरेले शनिबार नागरिकसँग भने, ‘शेर्पाबिना सागरमाथा आरोहण असम्भव छ। करिब–करिब सबै विदेशी आरोहीले आरोहण परित्यागको निर्णय गरेका छन्। केही आरोहण दल काठमाडौं फर्किसकेका छन्, बाँकी पनि आधारशिविरबाट झर्दैछन्।’
आफ्नो कम्पनी सांग्रिला नेपालले व्यवस्थापन गरेको पाँचवटा दल आरोहण परित्याग गर्ने निर्णय गरी काठमाडौं फर्कंदै गरेको घिमिरेले जानकारी दिए। ती दलका शेर्पामध्ये ६ जनाले हिमपहिरोमा ज्यान गुमाएका थिए। पाँचको शव फेला परे पनि एकजना अझै बेपत्ता रहेको घिमिरेले बताए।
‘शेर्पाहरूको साहसको कदर गर्दै हाम्रा सबै दलले यसपालि सगरमाथा आरोहण नगर्ने निर्णय गरेका छन्,’ उनले भने, ‘सहकर्मी नगुमाएका सबै दल पनि आरोहण परित्याग गरेर फर्कने निर्णयमा पुगेका छन्। दुई–चार दिनभित्रै सबै काठमाडौं आइसक्छन्।’
घिमिरेका अनुसार एनबिसी एभरेस्ट एक्सपिडिसन–२०१४, एएआई–एभरेस्ट एक्सपिडिसन–एस २०१४ र त्यही नामको अर्को दल र एसएनटी एभरेस्ट दलले आरोहण परित्याग गरेका हुन्। ती दलका पाँचजनाले ज्यान गुमाएका थिए।
त्यसैगरी आफूले व्यवस्थापन गरेर सगरमाथा पठाएका तीनवटा आरोहण दलका ६ शेर्पा गुमाएको हिमालयन गाइड्स नेपाल ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक ईश्वरी पौडेलले सबै दल आरोहण परित्याग गरेर फर्केको बताए।
‘सहकर्मी गुमाएका शेर्पा त हतास हुने नै भए। त्यसमाथि जसको सहयोगमा शिखर पुग्न अगाडि बढेका विदेशी थिए, उनीहरूले स्वविवेकले यसपालि आरोहण नगर्ने निर्णय गरे,’ पौडेलले भने, ‘हाम्रा दल यहाँ आएपछि पर्यटन मन्त्रालयलाई यसबारे लिखित जानकारी दिनेछन्।’
उनका अनुसार एसी एभेरस्ट एक्सपिडिसन २०१४ र एडभेन्चरिस्ट एभरेस्ट एक्सपिडिसन २०१४ दलका ६ जनाले ज्यान गुमाएपछि सबै दल आरोहण परित्याग गरेर फर्कंदै छन्।
त्यस्तै तीन शेर्पा गुमाएको सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले सगरमाथाका लागि यसपालि तीन टोली पठाएका थिए। ती दलका तीन शेर्पामध्ये एकको शव फेला परे पनि अझै दुईजना बेपत्ता छन्। तीनैजना गुमाएको एभरेस्ट चाइनिज ड्रिम एक्सपिडिसन २०१४ दलका चिनियाँ आरोही फर्किसकेको शेर्पाले जानकारी दिए।
‘पर्यटनमन्त्री भीम आचार्यले आधारशिविर पुगेर विविध कारण यसपालि आरोहण गर्न नसके वा परित्याग गर्ने दललाई आगामी पाँच वर्षभित्र जुनसुकै वर्ष आए पनि अहिलेकै रोयल्टीमा सगरमाथा चढ्न दिने प्रतिबद्धता जनाएपछि थप सहज भएको छ,’ शेर्पाले भने, ‘यसबाट पर्वतारोहण क्षेत्रमा सकारात्मक सन्देश गएको छ। विदेशी आरोही पनि खुसी भएर फर्केका छन्।’
उनको कम्पनीमार्फत सगरमाथा गएका दलका एक चिनियाँले शुक्रबार मृतक र घाइते शेर्पाका परिवारलाई २७ लाख २० हजार, अर्का चिनियाँले ३२ लाख ८० हजार रुपैयाँ सहयोग गरेका थिए। अर्को कम्पनीका एक दलका युक्रेनीले भने प्रत्येकलाई एक–एक लाख रुपैयाँ दिएका थिए। एसियन ट्रेकिङ प्रालिको व्यवस्थापनमा सगरमाथा गएका दुईवटा दल पनि आरोहण परित्याग गरी काठमाडौं फर्कंदै गरेको छ।
यसपालि आरोहण परित्याग गरेका दलले आफ्ना सहकर्मी शेर्पालाई पारिश्रमिक भने दिएका छन्। सेभेन समिटका प्रबन्ध निर्देशक शेर्पाका अनुसार एक सिजनमा एक आरोहण सहयोगीले ४ देखि ५ लाख रुपैयाँ कमाउने गर्छन्। ती सबैलाई सम्बद्ध विदेशी आरोहीले साढे दुईदेखि ३ लाख रुपैयाँ पारिश्रमिक दिइसकेका छन्। १५ जना विदेशी आरोही रहने एउटा दलले सगरमाथा आरोहण गर्दा साढे ३ करोड रुपैयाँसम्म खर्च गर्ने गर्छ।
‘अहिले ९० प्रतिशतजति विदेशी आरोही आधारशिविरबाट झरिसकेका छन्। केही काठमाडौं आइसके भने केही बाटामै छन,’ उनले भने, ‘केही दिनभित्र आधारशिविर खालि हुन्छ। यसपालि परित्याग गरेका आरोहीलाई अर्को वर्ष आउँदा हामी पनि छुटमा आरोहण गराउँछौं।’
यसपालि एक नेपाली र ३१ विदेशी आरोही सहभागी दलबाट पर्यटन मन्त्रालयले ३२ लाख ५० हजार अमेरिकी डलर (३१ करोड ३९ लाख १७ हजार ५ सय रुपैयाँ) रोयल्टी उठाएको छ। सगरमाथा आरोहण अनुमति लिएका ३१ विदेशी दलमा ३ सय ३४ आरोही छन्। तीमध्ये २ सय ७७ पुरुष तथा ५७ महिला छन्। तिनमा ८५ अमेरिकी, ३५ बेलायती, २५ भारतीय, २३ जापानी र २२ चिनियाँ आरोही छन्।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु