गधाको दुध प्रतिलिटर दुई हजार

२०७० पुष २१ गते, आईतवार


काठमाडौँ ।भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा हाल गधाको दुध प्रतिलिटर दुई हजार भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । धेरै महँगो मूल्य तिर्दा पनि ग्राहकहरूले चाहेजति पाउन सकिरहेका छैनन् ।ग्ाधाको दुध लिन ग्राहकहरूले घन्टौं लाइन बस्ने गरेका छन् । पोथी गधाको दुधको यो अहिले मात्रै बढेको होइन । इटिप्टकी राजकुमारी क्लियोपेट्रा अति सुन्दर हुनुको रहस्य उनले प्रयोग गर्ने गरेको गधाकै दुध थियो । आन्ध्रप्रदेशको तेलंगाना र तटीय क्षेत्रमा राज्य विभाजनका कारण गतिरोध कायमै रहेको बेला त्यहाँका बजारहरूमा उत्तरी तेलंगानाबाट गधाहरूको झुन्डसहित आएकाहरूको चर्चा खुबै भइरहेको छ । उक्त समूहले बजारमा गधाको दुध उच्च मूल्यमा बेचिरहेका छन् । दुध बेच्नेहरू भन्छन्, ‘गधाको दुध नवजात शिशुहरूको स्वास्थ्यका लागि सर्वोत्तम पोषण दिने खालको छ ।’ शिवाजीपालेममा जी लिंगाम्मा नामकी एक महिलाले गधाको एउटा जोडीका साथ दुध बेच्दै गर्दा त्यहाँ ग्राहकहरूको ठूलो लाइन थियो ।
चार परिवारका २० जना १५ जोडी गधाका साथ तेलंगानाका अदिलाबाज जिल्लाबाट तटीय क्षेत्रमा आएका छन् । लिंगम्माले भनिन्, ‘हामी एक कप (२५ मिलि) गधाको ताजा दुध २ सय रुपैयाँमा बेच्छौं, यदि कसैलाई धेरै चाहिए दुई हजार प्रतिलिटरमा दिन्छौं ।’ दुध महँगो भए पनि खरिद गर्नेहरूको कमी छैन । लिंगम्माले आफूहरूले अघिल्लो वर्ष पनि यसरी नै दुध बेचेर दैनिक सात सयदेखि ८ सय रुपैयाँ कमाएको बताइन् । दुध खरिद गर्न लाइनमा बसेकी एक गृहिणी के सत्यवतीले लिंगाम्मासँग ७५ मिलि दुध किन्न आएको बताइन् ।उनले भनिन्, ‘मेरी छोरीले शिशू बालिका जन्माएकी छन्, उनको लागि दुध लिन आएकी हुँ ।’ चिकित्सकहरूका अनुसार महिलाको स्तनबाट प्राप्त हुने दुधमा भन्दा गधाकोमा ल्याक्टोस धेरै बढी हुन्छ । उनीहरू भन्छन्, ‘प्राचीन कालमा ६ देखि ८ महिनासम्मका बालबालिकालाई दम र श्वाससम्बन्धी एलर्जीबाट बचाउनका लागि गधाकै दुधको बढी प्रयोग हुन्थ्यो । कस्मेटिक प्रडक्टहरूमा समेत प्रयोग गरिन्छ । विश्वकै महँगा डेरी उत्पादनहरूमा पनि गधाको दुध प्रयोग गरिएको हुन्छ ।’-एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु