बच्चा उत्पादन फ्याक्ट्री खुल्दै

२०७० आश्विन १८ गते, शुक्रबार

काठमाडौं, १८ असोज – भारतमा विश्वकै पहिलो बच्चा उद्योग खुल्दैछ । यो उद्योगमा सयौँ गरीब महिलाले काम गर्नेछन् र उनीहरुको काम धनी महिलाका लागि बच्चा जन्माइदिनु हुनेछ ।यो फ्याक्ट्रीका पेशेवर महिलाले त्यस्ता दम्पतीहरुलाई सन्तानलाभ गरिदिनेछन् जसले आफैले बच्चा पाउन असमर्थ छन् । त्यस्ता निसन्तान दम्पतीको लोग्नेको विर्य लिएर त्यसलाई कृत्रिम गर्भाधान मार्फत त्यहाँका महिलाले भाडाकी आमा भएर बच्चा गर्भमा बोकी जन्माइदिने बताइएको छ ।करोडौँ रुपैयाँमा बनाउन लागिएको उक्त निसन्तान क्लिनिकका पेशेवर भाडाका आमा महिलाबाट बच्चा पाउन चाहनेहरुले एउटा अपार्टमेन्ट नै भाडामा लिनुपर्नेछ र महिलालाई सबै खानपान र सुविधा दिएर राख्नुपर्नेछ । क्लिनिकमा ती महिलाको डिम्ब र सम्बन्धित पुरुषको शुक्रकिटबीच टेष्टट्युव विधिमार्फत गर्भाधान गराएर भ्रुण पाठेघरमा राखिनेछ र ती महिलाले समय पुगेपछि बच्चा जन्माइदिनेछिन् । उक्त सुविधासम्पन्न बच्चा फ्याक्ट्रीमा भाडाकी आमालाई बस्ने कोठादेखि लिएर कार्यालय,अस्पताल तथा रेष्टुरेन्ट लगायतका संरचना पनि हुनेछन् ।
यस्तो बच्चा फ्याक्ट्री खोल्ने योजना बनाउने एकजना महिला डाक्टर हुन् । उनको नाम नयना पटेल हो । त्यसरी भाडामा बच्चा पाइदिने महिलाले प्रति बच्चा झण्डै ५ लाख भारु कमाउनेछन् ।गुजरातको आनन्द सहरमा यस्तो स्वप्निल परियोजनाका लागि भवन निर्माण भैरहेको छ । पटेलले अहिलेसम्म यस्ता भाडाका आमाबाट ६ सय जना बच्चा पैदा गरिसकेकी छिन् । यस्तो बच्चाको व्यापार गर्ने उनको कार्यका कारण उनलाई मार्ने धम्की समेत आउने गरेको बताइन्छ । तर गरीब भारतीय महिलाले मनग्गे पैसा कमाउने र विशेष गरी पश्चिमा निसन्तान दम्पतीले सन्तानसुख पाउने आफ्नो यस्तो काम पुण्यको काम भएको उनको ठम्याइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु