चार दलीय नौटंकी – राजेन्द्र चिमौरिया

२०७० आश्विन १३ गते, आईतवार

देशको प्रमुख शक्ति नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चालाई बेवास्ता गर्दै सरकार चुनावको तयारीमा जुटेको छ । चार दल र सरकारले वार्ता र सहमतिबाट समस्या समाधान गर्नुभन्दा बल मिचाइ गरेको कारण थप संकट उत्पन्न भएको छ । नेकपा-माओवादीसहितका अन्य ३३ दलहरुलाई बाहिर राखेर गरिने चुनावको कुनै औचित्य नहुने जान्दाजान्दै पनि सरकार र चार दल एकोहोरो रुपमा अगाडि बढ्नु देशकै लागि दुभाग्य भएको छ । ३३ दलीय मोर्चा र अन्य दलहरुले समेत वर्तमान संकटको निकास गोलमेच सम्मेलन हो, सबै दलहरु एकै ठाउँमा बसेर समस्याको समाधान खोजौँभन्दा भाग्ने चार दल र सरकारकै कारण मुलुक थप संकटतिर धकेलिएको छ । मुलुकको वर्तमान संकटको समाधानको निम्ति राष्ट्रपति डा. रामवरण यादवले लिएको पहलकद्मीसमेत तुहिनुले सरकार, चार दल र राष्ट्रपतिसमेत वर्तमान संकट निकासको निम्ति प्रतिबद्ध नभएको प्रस्ट हुन्छ । वार्ता र सहमति गरौँ भन्दै नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चालाई अलमलाउँदै कुनै अदृश्य शक्तिको आडमा चार दल, सरकार र राष्ट्रपतिसमेत चुनावको नौटंकी गर्दैछन्, यसका कारण मुलुक झन् संकटग्रस्त भएको हो । नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चाले राष्ट्र, राष्ट्रियता, जनजीविका र जनसंविधानको विषयमा स्पष्ट भएर अघि बढ्न गरेको पहलकद्मीलाई नजरअन्दाज गर्ने भविष्यमा चार दल, सरकार र राष्ट्रपतिलाई समेत महँगो पर्ने पक्का छ । देशको वर्तमान संकटको समाधान चुनाव होइन, दलहरुबीचको आपसी सहमति र सहकार्यबिनाको निर्वाचनको कुनै अर्थ रहँदैन । सरकारले मंसिर ४ को निर्वाचनको रट लगाइरहँदा नेकपा-माओवादीसहितको ३३ दलीय मोर्चा र अन्य दलहरुले समेत निर्वाचनको औचित्य नरहेको र कुनै पनि हालतमा निर्वाचन हुन नदिने उद्घोष गरिसकेका छन् । मुलुकका अधिकांश दलहरुले भाग नलिएको निर्वाचन न सफल हुन सक्छ न यसले निकास नै दिन सक्छ । चार दल र सरकारले समयमै आफूलाई नसच्याउने हो भने देश गम्भीर भड्खालोमा पर्ने त छँदैछ, त्यसले चार दल र सरकारको भविष्यमा समेत ग्रहण लगाइदिने निश्चित छ । त्यसैले चार दल र सरकारले तुरुन्त निर्वाचनका सम्पूण् कार्यक्रम स्थगित गरी सबै राजनीतिक दलहरुलाइ बार्तामा बोलाउनु पर्छ । देशका सबै राजनीतिक दलहरुको सहमतिबाट नै वर्तमान संकटबाट निकास पाउन सकिन्छ, अन्यथा मुलुक गम्भीर दुघटनातर्फधकेलिने छ । तर्सथ सरकार र चार दलले आफ्नो अहंकार छोडी देश र जनताको निम्ति सहमति र सहकार्यको थालनी गर्नुपर्छ, अहिलेको आवश्यकता समयको माग र नेपाली जनताको चाहना पनि यही छ, चेतना भया ।

प्रतिक्रियाहरु