आज बजेट आउने

२०७० असार ३० गते, आईतवार

काठमाडौं, ३० असार- सरकारले आर्थिक वर्ष २०७०/७१ को बार्षिक बजेट आज सार्वजनिक गर्ने भएको छ । आज विहान बस्ने मन्त्री परिषद्को बैठकले अर्थमन्त्रालयकले तयार गरेको बजेट पारित गरी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने र प्रमाणीकरण भएपछि अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ । अर्थ मन्त्रालयसम्बद्ध स्रोतका अनुसार आज दिउसो अर्थमन्त्रीले राष्ट्रिय योजना आयोगको हलमा आर्थिक वर्ष २०७०/७१ को बार्षिक बजेट पढ्ने तयारी भएको छ । अर्थमन्त्रालयले नयाँ कार्यक्रम विना नै बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । चुनावी सरकार भएकोले नयाँ कार्यक्रम ल्याउन नहुने भन्दै विरोध भएपछि मन्त्रालयले पुरानै कार्यक्रमलाई पैसा बढाउने र निर्वाचनका लागि करिब १४ अर्ब रुपैयाँ छुट्याएर बजेट सार्वजनिक गर्ने मन्त्रालय स्रोतले जनाएको छ । निर्वाचन आयोगलाई छुट्टयाउने बजेटमध्ये झण्डै नौ अर्ब रुपैयाँको हाराहारीमा निर्वाचन सुरक्षाका लागि खर्च हुनेछ । यसबाहेक कर्मचारीलाई तलबको सट्टा भत्ता बढाउने सम्भावना बढी छ । सन्तुलित बजेटका लागि मन्त्रालयले नयाँ कार्यक्रम नथपेको मन्त्रालयका उच्च अधिकारीले बताएका छन् । राष्ट्रिय गौरवका आयोजना, सर्वसाधारणको जीवनयापनसँग जोडिएका कार्यक्रमलगायतलाई बजेट बढाइने छ । अर्थमन्त्री कोइरालाले भरतमोहन अधिकारीपछि असारमै पुर्ण बजेट वाचन गर्दैछन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु