मानिसको रगत पिउने महिला

२०७० जेष्ठ ३० गते, बिहीबार


न्यूर्योक, ३० जेठ । अमेरिकाको पेन्सिलिभेनियाकी एक महिला पछिल्लो ३० वर्षयता दैनिक मानिसको करिब दुई लिटर रगत पिउँदै आएकी छिन् ।जुलिया क्यापलेस नाम गरेकी ४५ वर्षीया ती महिलाको यो रगत पिउने बानी भने अहिले इन्टरनेटमा चर्चामा छ । जुलियाले दैनिक मानिसको रगत पिउनाले आफूले आफूलाई स्वस्थ्य र स्फूर्त भएको महशुस गर्ने गरेको बताउने गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
दुई बच्चाकी आमा जुलियाले दैनिक मानिसको रगत पिउनाले आफ्नो शरीरमा तागत थपिने गरेको समेत प्रतिक्रिया दिएकी छिन् । ती महिलाले आफ्नो सुन्दरताको रहस्य पनि दैनिक दुई लिटरका दरले पिएको मानिसको रगत नै भएको बताएकी छिन् । जुलियाका अनुसार रगत पिउन थालेदेखि पछिल्लो ३० वर्षयता उनलाई कुनै शारीरिक तनाव भएको छैन भने उनी विरामी समेत परेकी छैन । उनका २४ वर्षीया एक छोरी र ९ वर्षीय एक छोरा छन् ।
जुलियाको दैनिक मानिसको रगत पिउने बन्दोबस्त उनकै घरमा हुने गर्छ ।उनका घरमा आउने पाहुनाको राजीखुशीमै उनले पाहुनाको गर्धनमा छेदन गरेर रगत चुस्ने गर्छिन् । जुलियाले रगत पिउने बानीलाई पूरा गर्न रक्तदाताको मद्दत समेत लिन्छिन् । जो व्यक्ति रक्तदान गर्न इच्छुक हुन्छन्, उनीहरु जुलियाकोमा पुगेर खुशी–खुशी आफ्नो रगत ‘दान’ गरेर जान्छन् । त्यतिमात्रै होइन, रक्तदाताहरुले जुलियासँगको उक्त क्षणको फोटो समेत खिच्छन् र सामाजिक सञ्चालहरुमा सेयर समेत गर्छन् । कहिले काँही जुलिया ‘ब्लडस्टोर’बाट रगत खरिद गरेर समेत पिउने गर्छिन् ।
१५ वर्षकै उमेरमा रगत पिउन थालेकी जुलियाले सुरु–सुरुमा कहिले–काँही मात्रै मानिसको रगत पिउने गर्थिन् । तर, आफ्नो पूर्व पति डोनाल्ड लैजोरोभिक्जलाई भेटेपछि भने उनले दैनिक मानिसको रगत पिउन थालेकी हुन् । जुलिया डोनाल्डका साथमा स्थानीय क्लबमा जान्थिन् र यिनीहरु दुईले एकअर्काका रगत पिउँथे । यिनीहरुले वर्ष सन् २००० मा विवाह गरेका थिए । विवाहमा पनि यिनीहरुले एकअर्काका रगत पिएका थिए ।तर, डोनाल्डले छोरा ९एलेक्स०को जन्म भएपछि रगत पिउन छाडे भने जुलियाले यस बानीलाई निरन्तरता दिईन् । जुलियाले जोसुकै व्यक्तिको रगत पिउनुअघि पहिला ती व्यक्तिको रक्त परीक्षण गराउने गरेकी जनाइएको छ ।
अर्कोतर्फ अमेरिकाका रक्त विशेषज्ञ स्टीभन ग्रुएनस्टिनले भने विश्वका कयौं संस्कृतिमा सदियौंदेखि मानिसको रगत पिउने परम्परा चलिआएको प्रतिक्रिया दिएको जनाइएको छ । विशेषज्ञ स्टीभनले रगत पिउनाले कस्तो असर गर्छ भन्ने कुरा हरेक मानिसको शरीर अनुसार फरक–फरक हुने बताएका छन् । उनले रगतमा नून, प्रोटिन लगायतका तत्व हुने जनाएका छन् । विशेषज्ञले केही व्यक्ति आफ्नो रगतमा भएको केही तत्वको कमीका कारणले रगत पिउन आकर्षित हुन सक्छन् भन्ने प्रतिक्रिया समेत व्यक्त गरेका छन् ।उनले रगतमा एचआईभी, हेपाटाईटिस जस्ता कयौं जीवाणु हुन सक्ने भन्दै जिउँदो मानिसको रगत पिउनाले ती जीवाणु शरीरमा सर्न सक्ने प्रतिक्रिया दिएको समाचारमा जनाइएको छ तर, उनले कोही–कसैलाई पनि रगत पिउने सल्लाह दिन नसकिने बताएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु