नेपालमा र्सार्कस्तरीय सरसफाइसम्बन्धी सम्मेलन

२०७० जेष्ठ ४ गते, शनिबार


काठमाडौँ । नेपालमा दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन -र्सार्क स्तरीय सरसफाइसम्बन्धी सम्मेलन हुने भएको छ । आगामी कात्तिक महिनामा हुने सम्मेलनमा र्सार्क राष्ट्रले सरसफाइका क्षेत्रमा गरेका प्रगति एवं समस्याका बारेमा छलफल हुनेछ । सन् २०१७ सम्ममा सबैका लागि सरसफाइको पहुँच पुर्याउने विश्वव्यापी अभियान रहेको छ । नेपालमा अझै पनि ३८ प्रतिशत जनता सरसफाइको पहुँचभन्दा बाहिर रहेका छन् । सहरी विकास मन्त्रालयका अनुसार दैनिक दस लाख जनताले खुला क्षेत्रमा दिसा पिसाब गरिराखेका छन् । सहरी विकास मन्त्री छविराज पन्तले नेपाल वतावरण पत्रकार समूह र फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रद्वारा संयुक्त रूपमा आज यहाँ आयोजित फोहरमैला व्यवस्थापनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै र्सार्कस्तरीय सरसफाइ क्षेत्रीय सम्मेलनको तयारी भइराखेको जानकारी दिए । उनले भने, ‘र्सार्क क्षेत्रमा नेपालको सरसफाइसम्बन्धी उपलब्धि सन्तोषजनक रहे पनि आन्तरिक प्रगति भने कम नै रहेको छ ।’ सफा सहर अभियानका लागि मन्त्रालयले नयाँ कार्यक्रम ल्याउन लागेको बताउँदै यसमा सहयोग पुर्याउन मन्त्री पन्तले सबैसँग आग्रह गरे । सो मन्त्रालयका सचिव किशोर थापाले फोहरलाई मोहर बनाउन फोहरमैला व्यवस्थापनसम्बन्धी नयाँ नीति ल्याउन लागेको जानकारी दिए । फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्दका कार्यकारी निर्देशक डा. सुमित्रा अमात्यले सहरी क्षेत्रको फोहर व्यवस्थापनका क्षेत्रमा नयाँनयाँ चुनौती थपिँदै गएको र यसको समाधानका लागि केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरिराखेको जानकारी दिए । तीनदिने सो कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीको सहभागिता रहेको छ ।

प्रतिक्रियाहरु