मनीषाको ६ घण्टा लामो शल्यक्रिया सम्पन्न

२०६९ मंसिर २६ गते, मंगलवार

न्युयोर्क, मंसिर २६ – अभिनेत्री मनीषा  कोइरालाको पाठेघरको शल्यक्रिया भर्खरै सम्पन्न भएको छ । स्थानीय समय मुताविक सोमबार राति साढे एघार बजे अर्थात नेपाली समय अनुसार मंगलबार बिहान सवा दश बजे शल्यक्रिया पूरा भएको थियो । म्यानहाटन स्थित मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा ४२ बर्षीया  कोइरालाको शल्यक्रिया चिकित्सक डेनिस ची ले गरेका थिए ।

शल्यक्रिया साढे ६ घण्टा भन्दा बढी चलेको थियो । ची, न्युयोर्कमै नाम चलेको ‘ओभोरियन क्यान्सर’ रोग बिशेषज्ञ हुन् । झण्डै एक सय ३० बर्ष पहिले स्थापना भएको मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टर, विश्वमै प्रसिद्वि कमाएको क्यान्सर अस्पताल हो ।

शल्यक्रिया सम्पन्न भएपनि परिवारका सदस्यहरुलाई मनीषासँग तत्काल भेटन भने दिईएको छैन । केही साता मनीषा अस्पतालमै रहनेछिन् । समाचार स्रोतका अनुसार चिकित्सक ची ले परिवारका सदस्यहरुसँग शल्यक्रिया पूर्वको कुराकानीमा आफू अप्रेशसन कक्षबाट दुई घण्टा भित्र मै बाहिर आए, बिरामीको अवस्था नराम्रो रहेको अनुमान गर्नु । यदि  ६/७ घण्टा लगाएर फर्किए भने अप्रेसन राम्रो भयो भनेर सोच्नु भनेका थिए ।

शल्यक्रिया लामो हुनुको अर्थ यो स्टेजको बिरामीको सबै समस्याको निदान सकेर आफू फर्किएको ठान्नु भन्दै चिकित्सक ची अप्रेशन कक्ष भित्र गएका थिए ।

निर्धारित तालिका अनुसार सोमबार मध्यान्ह १२ बजे गर्ने भनिएको मनीषाको शल्यक्रिया झण्डै पाँच घण्टा पछि सुरु भएको थियो । मनीषा भन्दा पहिले पालो रहेको बिरामीको शल्यक्रियामा केही ढिलाई भएपछि उनलाई साँझ पाँच बजे अप्रेशन कक्ष भित्र लगिएको थियो । क्यान्सर सेन्टरमा सोमबार बिहानैदेखि रहेकी मृदला कोईरालाले ईकान्तिपुर लाई दिएको जानकारी अनुसार अप्रेशन कक्ष भित्र जाने क्रममा मनीषाले आफनो चिन्ता नगर्न अनुरोध गरेकी थिईन् । हात हल्लाउँदैं मनीषाले भनेकी थिईन्, ‘ आई वील वी ब्याक सुन । डोन्ट वरी ।’

क्यान्सर सेन्टरको शल्यक्रिया कक्ष बाहिरको प्रतिक्षालयमा रहेको मनीषाका बाबु, आमा र भाईका अतिरिक्त उनी फुपु चेतना दिक्षित केही चिन्तित देखिएपनि मनीषाले स्थितिलाई सामान्य लिएको र आफु चाँडै स्वस्थ हुने बताएको परिवारिक सदस्य रहेकी मृदलाले बताइन् ।

तेह्र दिन अघि मुम्बईमा अकस्मात बेहोस भएपछि स्थानीय जसलोक अस्पतालले उनीलाई पाठेघरको क्यान्सर भएको जनाएको थियो । त्यसपछि उनलाई न्युयोर्क ल्याईएको थियो ।

प्रतिक्रियाहरु