सरकार र डा. केसीका प्रतिनिधिबीच वार्ता सुरु

२०७५ श्रावण १ गते, मंगलवार

काठमाडौँ, १ साउन । अनशनरत डा. गोविन्द केसी जुम्लाबाट काठमाडौँ नआएसम्म वार्ता नगर्ने अडान लिएको सरकार पछि हटेको छ । सरकार आफ्नो अडानबाट पछि हटेपछि सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच बार्ता सुरु भएको छ । दुई पक्षबीचको वार्ता सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा सुरू भएको छ ।
मन्त्रिपरिषद्ले सोमबार मात्र शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह र स्वास्थ मन्त्रालयका सहसचिव रहेको वार्ता टोली गठन गरेको थियो । सोमबारनै दुई पक्षबीच वार्ता भएपनि निष्कर्षमा पुग्न नसकेपछि आज फेरि वार्ता सुरू भएको हो । केसीका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, अधिवक्ता ओम प्रकाश अर्याल र डाक्टर अभिषेकराज सिंह वार्तामा सहभागी छन् । वार्ताअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले दुवै वार्ता टोलीसँग छुट्टाछुट्टै छलफल गरेका छन् ।
सरकारी पक्षले केसीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै काठमाडौं ल्याउन सहयोग गर्न आग्रह गरेको छ । केसीका प्रतिनिधिले भने संसदमा दर्ता विधेयक फिर्ता भएको अवस्थामा मात्र केसी काठमाडौं आउने बताएका छन् । चिकित्सा शिक्षा अध्यादेशमा रहेका प्रावधानहरू हटाएर सरकारले संसदमा विधेयक अगाडि बढाएको विरोधमा डाक्टर केसी जुम्लामा १८ दिनदेखि अनसनमा रहेका छन् ।

प्रतिक्रियाहरु