लिपुलेक सम्झौता नेपालको राष्ट्रिय हित विपरित

२०७२ असार १५ गते, मंगलवार

काठमाडौं, १५ असार । चीन र भारतले नेपालको दार्चुला जिल्लाको व्यास गाविसमा रहेको लिपुलेक क्षेत्रमा व्यापारिक नाका खोल्ने विषयमा गरेको सहमति नेपालको राष्ट्रिय हित विपरित भएको भन्दै कूटनीतिक ढंगबाट यसको समाधान खोज्न विज्ञहरुले सुझाव दिएका छन् ।आज राजधानीमा गरिएको कार्यक्रममा सीमाविद् बुद्धिनारायण श्रेष्ठले ‘भारत र चीनले नेपालको कूटनीतिक शिथिलताको फाइदा उठाएर उक्त सम्झौता गरेको भन्दै सरकारले सम्बन्धित देशका राजदूतमार्फत् कूटनीतिक पहल थाल्नुपर्ने’ बताए ।
वरिष्ठ पत्रकार भैरव रिसालले ‘२०१८ सालको जनगणना गर्दा सो क्षेत्रमा सयौं नेपाली रहेको प्रमाण अझै सुरक्षित छ’ भन्दै ‘लिपुलेकको भूमि विवादका विषयमा सरकारले तत्काल गम्भीर ढंगले कूटनीतिक वार्ता थाल्नुपर्ने’ बताए ।अन्तर्राष्ट्रिय कानुनका ज्ञाता गोपाल शिवाकोटीले ‘लिपुलेक नेपालको भूमि रहेकोमा कुनै विवाद नभएको’ भन्दै ‘दुई छिमेकीले यसलाई व्यापार नाका बनाउँदा नेपाललाई नसोध्नु दुर्भाग्यपूर्ण भएको’ बताए ।कार्यक्रममा विभिन्न दलका नेताले छिमेकीले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप गर्न खोजेको भन्दै तत्काल सम्झौता फिर्ता गराउन माग गरेका थिए ।

प्रतिक्रियाहरु