भूकम्पबाट मृत्यु हुनेको संख्या ५२ सय नाघ्यो, हजारौ घाइते

२०७२ बैशाख १७ गते, बिहीबार

काठमाडौं, १७ बैशाख। गत शनिबार गएको महाभूकम्पबाट मृत्यु हुनेको संख्या ५२ सय ३८ पुगेको छ । हजारौं घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार कैयौं व्यक्ति अझै वेपत्ता छन् ।अहिलेसम्म प्राप्त विवरण अनुसार घाइतेको संख्या १० हजार १ सय ९४ पुगेको छ । मृतक र घाइतेको संख्या बढ्ने क्रम जारी रहेको पनि गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालका अनुसार भुकम्पबाट ३६ वटा सरकारी भवन पूर्ण रुपमा ध्वस्त भएका छन भने २०४ वटामा आंशिक क्षति पुगेको छ ।
यस्तै, सर्वसाधारणका १ हजार ९ सय १६ वटा घर पूर्णत ध्वस्त भएका छन् भने ५ हजार २ सय ९५ घरमा आंशिक रुपमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको गृहमन्त्रालयले जनाएको छ ।
भूकम्पबाट नेपालमा ८० लाख मानिस प्रभावित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । राष्ट्रसंघले १४ लाख मानिसलाई तत्काल खाद्यान्न सहयोग आवश्यक रहेको पनि जनाएको छ ।
भूकम्पबाट सबैभन्दा बढी असर परेको राजधानीका तीन जिल्ला र वाग्मती अञ्चलका अरु जिल्लामा उद्धार र राहतको काम भइरहेको छ ।
जनधनको ठूलो क्षति ब्यहोरेका जिल्लामा भूकम्पको मूख्य केन्द्र रहेको गोर्खा, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, रसुवा, नुवाकोट, घादिङ, काभ्रे, दोलखा र लमजुङ छन् । घाइतेहरुको काठमाडौ र प्रभावित जिल्लाका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रियाहरु