नेवानिको एयरबसले हङकङ उडान भर्ने

२०७१ चैत्र ११ गते, बुधबार

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी हप्तादेखि हङकङमा एयरबस ‘ए३२०-२००’ जहाजबाट उडान गर्ने भएको छ । हाल बोइङ ७५७ जहाजबाट नियमित उडान गरिरहेको निगमले चैत १९ देखि नयाँ जहाजबाट उडान गर्ने भएको हो । तीन दशक पुरानो ‘बोइङ ७५७’ जहाज एप्रिलदेखि हङकङ जान नपाउने भएपछि हालसालै यूरोपबाट ल्याएको एयरबसबाट उडान गर्न लागेको निगम प्रवक्ता रामहरि श्रेष्ठले बताए । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले (आरएनपी-वान) प्रविधि जडान नगरेका जहाजलाई प्रवेश नदिने नीति लागू गरेपिछ ‘बोइङ ७५७’ जान नपाउने भएको हो ।
निगमसँग भएइका दुईवटा बोइङ ७५७ जहाज धेरै पुराना भइसकेको हुँदा ‘आरएनपी-वान’ प्रविधि जडान गरिएको छैन् । हङकङले सन् २०१२ देखि नयाँ नीति लागू गरेपनि निगमको आग्रहपछि आगामी चैत १७ गतेसम्म उडान अवतरणको सुविधा पाएको छ ।
बोइङको समयावधी सकिन लागेपछि निगमले नयाँ जहाज एयरबसबाट उडान गर्ने तालिका बनाइसकेको प्रवक्ता शर्माले जानकारी दिए । आरएनपी-वान प्रविधि जडान गर्न निकै महंगो पर्ने हुँदा निगमले बोइङमा यो प्रविधि जडान नगर्ने जनाएको छ ।
रेगुलेटेड नेभिगेसनल प्रोसिडियोर-वान (आरएनपी-वान) भू-उपग्रहबाट जहाजको अवस्था र दुरी हेरेर अवतरण गराउन मिल्ने प्रविधि हो । यो प्रविधि जडान गर्न करिव ३ करोड रुपैयाँ खर्च हुने प्रवक्ता शर्माले बताउँछन् । दुईवटा बोइङमा यो प्रविधि जडान गर्दा मोटो रकम खर्च हुने भएकाले निगमले हङकङमा नयाँ जहाजबाट उडान गर्न लागेको हो ।
अन्य अन्तर्राष्ट्रिय विमानस्थलहरुले आरएनपी-वान प्रविधिलाई अनिवार्य रुपमा लागू नगरेको हुँदा ती विमानस्थलमा बोइङबाट उडान गरिने प्रवक्ता शर्माले जानकारी दिए ।
निगमले हङकङ, क्वालालम्पुर, बैंकक, दोहा र दिल्लीमा उडान गर्दै आएको छ । दिल्लीमा एयरबसबाट हप्तामा ४ दिन उडान गरिरहेको छ । निगमले हङकङमा बोइङकै भाडादरमा एयरबसबाट उडाउने जनाएको छ । अहिले हङकङमा भाडादर दुइतर्फी ५८ हजार र एकतर्फी ३५ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रियाहरु