जनकशिक्षाको लापरवाहीबिरुद्ध ट्रक तेर्स्याएर विरोध

२०७३ बैशाख २२ गते, बुधबार

काठमाडौं, २२ वैशाख । जनक शिक्षा सामग्री केन्द्र लिमिडेटले शैक्षिक सत्र शुरु भइसक्दा पनि विद्यालयका पाठ्यपुस्तक उपलब्ध नभएको भन्दै धादिङका पुस्तक तथा स्टेशनरी व्यवसायीले जनक शिक्षा मै पुगेर ट्रक तेर्स्याएर विरोध जनाएका छन् । आवश्यक रकम तिरेर कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक लिन जनक शिक्षाको छापाखाना पुगेका व्यवसायीहरुले केन्द्रले सबै विषयका पुस्तक उपलब्ध नगराएको भन्दै विरोधमा केन्द्रको मूल गेट अगाडि ट्रक तेर्स्याएर बाटो अवरुद्ध गरेका हुन् । आफूहरु आवश्यक रकम तिरेर पुस्तक लिन ट्रक लिएर केन्द्र पुगेको भए पनि केन्द्रले आवश्यक पर्ने पुस्तक दिन आनाकानी गरेका कारण सांकेतिक विरोध गरेको व्यवसायीहरुले बताएका छन् ।
नेपाल पुस्तक तथा व्यवसायी स्टेसनरी व्यवसायी महासंघका धादिङका सल्लाहकार नारायण श्रेष्ठका अनुसार गत बैशाख ५ गतेदेखि शैक्षिक सत्र शुरु भईसके पनि अहिलेसम्म धादिङका कुनै पनि सरकारी विद्यालयमा कक्षा ६ देखि १० सम्मका पाठ्यपुस्तक पुग्न सकेको छैन ।

प्रतिक्रियाहरु