डा. केसीको जीवन रक्षा गर्न माग

२०७५ असार २५ गते, सोमबार

काठमाडौं, २५ असार । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले अनसनरत ड़ा, गोविन्द केसीको माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । वैद्यले बिज्ञाप्ती जारी गर्दै अनसनरत डा. केसीको स्वास्थ्य स्थिति खस्केको जनाउँदै उनको जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
ओली सरकारले विगतमा आफूसँग भएको सम्झौताविपरीत चिकित्सा विधेयक ल्याएको भन्दै त्यसको खारेजीको माग गर्दै नौ दिनदेखि डा. केसी जुम्लामा अनसनरत छन् । अनसनरत केसीको स्वास्थ्य निकै रहेको जुम्ला शिक्षण अस्पतालले जनाएको छ ।
महासचिव किरणद्वारा जारी वक्तव्यमा ‘डा. केसीद्वारा स्वास्थ्य सुधार र सेवाको क्षेत्रमा उठाइएका जायज मागहरुको समुचित रुपमा अविलम्ब सम्बोधन गर्न र उहाँको जीवन रक्षाको निम्ति गम्भीर ध्यान दिन हामी सरकारसित जोडदार माग गर्दछौं’ भनिएको छ ।
डा. केसीका उठाइएका मागहरुमध्ये जुम्ला शिक्षण अस्पतालमा एमबीबीएस अध्यायन गराइनुपर्ने, काठमाडौं उपत्यकाबाहिर मात्र शिक्षण अस्पताल खोल्नुपर्नेलगायत माग राख्दै पटकपटक अनसन बस्दै आएका छन् । माफियाको चंगुलबाट चिकित्सा क्षेत्रलाई मुक्त गराउन आफू मर्न तयार रहेको बताउँदै आएका छन् ।
डा. केसीको जीवन रक्षा लागि नेपाली कांग्रेसले आइतबारै सार्वजनिक महत्वको सूचना प्रस्ताव संसदमा दर्ता गरिसकेको छ ।

प्रतिक्रियाहरु