ओएचसीएचआरद्वारा रुकुम पश्चिम र देवदहका घटना बारे गम्भीर चासो

२०७७ जेष्ठ १७ गते, शनिबार

काठमाडौं, १७ जेठ । संयुक्त राष्ट्र संघअन्तर्गतको मानव अधिकार उच्चायुक्तको कार्यालय (ओएचसीएचआर)ले रुकुम पश्चिम र देवदहमा अन्तरजातीय विवाहको विषयलाई लिएर दलित युवा र दलित युवती सहित ६ जनाको ज्यान गएको घटनाप्रति गम्भीर चासो व्यक्त गरेको छ । ओएचसीएचआर प्रमुख मिशेल ब्याचलेटले जेनेभाबाट विज्ञप्ति जारी गर्दै दुवै घटनामा शोक व्यक्त गर्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने बताएकी हुन । नेपाल सबै प्रकारको जातीय विभेद उन्मूलन सम्मेलनको एक पक्ष राष्ट्र भएको स्मरण गराउँदै मिशेलले नेपालमा छुवाछूतको अन्त्य भएको भनिएपनि दलितहरूले गहिरो भेदभावको सामना गरिरहेका र यसले अन्तरजातीय विवाहसम्बन्धी मुद्दाहरूको बारेमा धेरै चिन्ताहरू पनि उठाएको औंल्याएकी हुन । जातीय भेदभाव नेपालमा मात्र नभएर अन्य देशहरूमा पनि व्याप्त रहेको र यसले प्रायः गम्भीर क्षति निम्त्याउने हुँदा दिगो विकास लक्ष्य हासिल गर्न जातीय विभेद अन्त्य हुनुपर्ने मिशेलले उल्लेख गरेकी छन् ।
यसैगरी रुपन्देहीको देवदहमा शंकास्पद रुपमा ज्यान गुमाएकी १२ वर्षीया दलित किशोरीको बारेमा अत्यन्तै चिन्ताजनक रिपोर्टहरू पनि आइपुगेको विज्ञप्तीमा उल्लेख छ । उनीमाथि कथित उपल्लो जातको युवकले जबरजस्ती करणी गरेको, किशोरीलाई उक्त युवकसँग बलपूर्वक विवाह गराइदिन खोजिएको र सोही घटनाका कारण किशोरीको झुण्डिएर मृत्यु भएको रिपोर्ट उच्चायुक्त कार्यालयमा आएको मिशेलले उल्लेख गरेकी छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु