युवा संगठनद्वारा केन्द्रीय सदस्य शंकर निस्काशन

२०७६ पुष २४ गते, बिहीबार

काठमाडौं , २४ पुष । युवा संगठन नेपालले केन्द्रीय सदस्य शंकरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो संगठनका कार्यवाहक अध्यक्ष दिनेशले बुधबार प्रेस विज्ञप्ति निकाली संगठनका केन्द्रीय सदस्य शंकरमा आर्थिक, राजनीतिक तथा सांस्कृतिक विचलन देखिएको भन्दै पार्टी र संगठनलाई अस्वभाविक अभिव्यक्ति दिंदै आएको कारण संगठनको साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्काशन गरेका छन् । कार्यवाहक अध्यक्ष दिनेशले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली युवाहरुको जुझारु एवं गौरवशाली संगठन, युवा संगठन नेपाल स्थापनाकालदेखि सामाजिक, राजनीतिक, सांस्कृतिक र आर्थिक रुपमा मालेमावादी सिद्धान्त, आदर्शमा चल्दै आएको सुस्पष्ट युवा संगठन हो । नेपाली विशेषतामा चलिरहेको एकीकृत जनक्रान्तिमा संगठन लामबद्ध छ । मक्किएको दलाल संसदीय व्यवस्थाले मलजल गरिरहेका भ्रष्टाचार, राष्ट्रघात, जनघात, मानव व्यापार, कालोबजारी, लागू औसत र देहव्यापारका विरुद्ध संगठन लडिरहेको छ । दलाल संसदीय व्यवस्थालाई मिल्काएर त्यसको ठाउँमा वैज्ञानिक समाजवाद स्थापना गर्नु युवा संगठनको दायित्व हो ।’
का.वा. अध्यक्ष दिनेशले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘संगठन कम्युनिस्ट आर्थिक दृष्टिकोणमा प्रतिबद्ध छ । यसै सन्दर्भमा संगठनका केन्द्रीय सदस्य शंकरमा आर्थिक विचलन, सांस्कृतिक विचलन देखिएको, पार्टी र संगठनलाई अस्वभाविक अभिव्यक्ति दिंदै आएको कारणले आजैको मिति २०७६ पौष २३ गतेदेखि संगठनको साधारण सदस्यसमेत नरहने गरी संगठनबाट निस्कासन गरिएको प्रेस विज्ञप्तिमार्फत संगठन आम युवा, जनसमुदायमा जानकारी गर्दछ ।’

प्रतिक्रियाहरु