देशभरका स्वास्थ्य संस्था बन्द

२०७५ श्रावण ३ गते, बिहीबार

काठमाडौँ, ३ साउन । आजबाट देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुने भएको छ । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारले कुनै पहल नगरेको र वार्ता पनि केसीलाई जबरजस्ती जुम्लाबाट काठमाडौं ल्याउने प्रयासमा केन्द्रित रहेको भन्दै सेवा बन्द गर्ने घोषणा गरेको हो । संघको विज्ञ टोलीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधार गर्नेभन्दा सरकार केसीले जीवन त्याग्नु पर्ने परिस्थितितर्फ अग्रसर भएको आरोपसमेत लगाएको छ। संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्न र काठमाडौं उपत्यकामा दिउँसो १ बजे माइतीघर मण्डलामा चिकित्सकलाई भेला हुन समेत आग्रह गरेको छ। एक दिने बन्दमार्फत देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीको आवाज सरकारसम्म पुर्‍याउन र सरकारलाई संवेदनशील हुन सहयोग पुग्ने संघको विश्वास छ। संघले सरकार अझै संवेदनशील नभए देशभर आकस्मिक बाहेकका स्वास्थ्य सेवा अनिश्चितकालका लागि बन्द गर्न बाध्य हुने चेतावनी पनि दिएको छ।

प्रतिक्रियाहरु