‘दिन कटाउने होइन, दिन बदल्ने कम्युनिष्ट बन्नु पर्छ’

२०८१ बैशाख २५ गते, मंगलवार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले दिन कटाउने कम्युनिष्ट नभई दिन बदल्ने कम्युनिष्ट बन्नु पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशको धनगढीमा सोमबार आयोजना गरिएको सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम्मा बोल्दै उनले यस्तो बताएका हुन् । दिन काट्ने कम्युनिष्टको आवश्यकता नभएको बताउदै उनले दिन बदल्ने कम्युनिष्ट भएर देश र जनताको सेवामा लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन गरे । सुदूरपश्चिम प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी जिल्ला सदस्यहरुलाई निर्देशन गर्दै उनले पार्टीका नेता कार्यकर्ताहरुले देश र जनताका समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा जिम्मेवार बन्नु पर्ने बताए । उनले नेता कार्यकर्ताहरुले सक्षम मात्र नभई सक्षम अग्रदस्ताका रुपमा विकास गर्न जनताका सरोकारका विषयमा केन्द्रित हुनु पर्ने बताए । जनताले आशा भरोसा गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टी र विश्वास गर्ने नेता विप्लव भएको बताउदै उनले जनताको आशा, भरोसा र विश्वासलाई कायम राख्न जनतासँग नेता कार्यकर्ताहरु जोडिनु पर्ने बताए । जनताको बलिदानबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्नुका साथै मित्र शक्ति, मित्र वर्ग र मित्र समुदायसँग सहकार्य गर्दै अगाडि बढ्न जरुरी भएको बताउँदै उनले नेपाली विशेषताको समाजवाद प्राप्तिका लागी उनीहरुलाई एकताको झण्डामुनी गोलबन्द गर्दै लैजानु पर्ने बताए । निर्वाचनलाई एकिकृत जनक्रान्तिको मोर्चाको रुपमा लिनुपर्ने बताउदै उनले जनताका बिचमा रहेर जनताका काम गर्दै उनीहरुका समस्याको समाधान खोज्दै अगाडि बढ्नु पर्ने बताए । पुजीवादको ध्वंस र समाजवादको विकास नै माक्र्सवाद भएको बताउदै उनले नेपालमा दलाल पुजीवाद असफल भएको बताए । राजतन्त्र आफ्नै बलबुतामा आउन नसकेपनि विदेशी शक्ति केन्द्रहरुको सहयोगमा फर्कन सक्ने खतरा रहेको बताउदै उनले सबैले समयमै सचेत हुनु पर्ने बताए । स्थायी समिति सदस्य तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भरत सीले नेपालमा समाजवाद ल्याउन समाजवादीहरुले एकजुट हुनु पर्ने बताए ।
`दलाल पुजीवादी व्यवस्थाले समस्या समाधान गर्न नसकेकाले नयाँ विकल्पमा जानु पर्छ भन्ने सोचको विकास भएको छ, सबै समाजवादी भएका छन्, त्यसैले समाजवाद मान्ने सबै एक हुनु पर्छ´ उनले भने ।

निर्वाचनको प्रसंगमा बोल्दै उनले जित्नको सहि विचार र नेतृत्व आवश्यक हुने र त्यो नेपाल कम्युनिष्ट पार्टीसँग भएको बताए ।
`हामीलाई मन्त्री सांसद केही चाहिएको छैन समाजवाद चाहिएको छ । त्यसैले हामी समाजवादका लागी निर्वाचनमा जादैछौँ´,उनले भने । उनले उत्पादन क्रान्ति जारी रहेको बताउदै स्याउ, ओखरका बोट रोपेको, धान, गहुँ, तरकारी खेती गरेको, बाख्रा पालन गरेको जानकारी गराउदै सबैले सरल जीवन र कडा मेहनत गर्नुका साथै उत्पादनसँग अनिवार्य जोडिनु पर्ने बताए ।

त्यसैगरी कार्यक्रमका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य विकल्प सीले एक ध्रविय विश्व बहुध्रुविय भएको बताउदै साम्राज्यवादीहरुको करङ भाचिएको बताए । विश्वमा दादागिरी गर्दै आएको अमेरिकाकाे करङ भाचिएको छ, अब ढाड भाचिने अवस्था आएको छ , यो क्रान्तिको उपलब्धी हो उनले भने । रसिया युक्रेनसँग नभई अमेरिकासँग लडिरहेको बताउदै उनले अमेरिकाको ढाड भाचिने बताए । नेपालमा समाजवादले गर्भधारण गरिसकेको बताउदै उनले एक दिन अवश्य समाजवाद जन्मिने बताए । समाजवाद प्राप्तिका लागि सबै नेता कार्यकर्ताहरुले उत्पादनसँग जोडिएर आत्मनिर्भर पार्टी र कार्यकर्ता बनाउन लाग्नु पर्ने बताए । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा अछाम जिल्ला इन्चार्ज मिना सीले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्दै चुनावलाई युद्धका रुपमा लिनु पर्ने बताउदै क्रान्तिकारीहरु सबै ठाउँमा फिट हुनु पर्ने बताइन् । क्रान्तिकारी शक्तिहरु एकजुट हुनु पर्ने बताउदै उनले जितेर पनि हारेको जनयुद्धबाट पाठ सिक्दै आफ्ना कारणले हार्न नहुने बताइन् । उनले विचारको विकास गरेको पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरु अरु भन्दा फरक हुनु पर्ने बताइन् ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा कार्यक्रमका सञ्चालक समर सीले पार्टीलाई आन्तरिक रुपमा सुदृढ बनाऔँ, समाजवादका लागि फराकिलो मोर्चा निर्माण गरौँ शिर्षकको दस्तावेज वाचन गरेका थिए । कार्यक्रममा केन्द्रिय सदस्यहरु भगत सी, प्रकाश सी, एण्डीज सी लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।- धिरज प्रपाला

प्रतिक्रियाहरु