प्रकृतिलाई स्वच्छ राख्ने गिद्ध संकटमा

२०७५ जेष्ठ २० गते, आईतवार

काठमाडौं, २० जेठ । प्रकृतिलाई स्वच्छ राख्ने गिद्धको अवस्था कपिलबस्तुमा संकटग्रस्त छ । मरेका चौपायाको सिनो खाएर प्रकृतिलाई सफा गर्दै आएको गिद्ध प्रतिबन्धित डाईक्लोफेनेक नामक औषधिका कारण संकटमा पर्र्दै गएको हो । सरकारले गिद्धको संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाईक्लोफेमिकको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएकोले ७ बर्ष अघि जिल्लालाई डाईक्लोफेमिनक मुक्त घोषणा गरिएको थियो । तर, अझै पनि कृषकहरुले आफ्ना पशुहरुलाई उक्त औषधी सेवन गराउने गरेको स्थानीय कृष्ण नारायण तिवारीले बताए । सरकारले उक्त औषधीमा प्रतिबन्ध लगाए पनि त्यसबारे अझै कृषककहरुलाई थाहा नभएको उनको भनाइ छ । खेत, नदी, चौर लगातयका ठाउँमा मरेका गिद्ध देखिनु सामान्य बनेको तिवारीले बताए ।
सरकारले उक्त औषधीलाई प्रतिबन्ध लगाए पनि बजारमा सजिलै पाईने र सीमापारीबाट समेत ल्याएर प्रयोग गर्ने पाइएको छ । डाईक्लोफेनिकको प्रयोग नरोकिएकाले नै सिनो देखिने बित्तिकै झुम्मिने गिद्ध अचेल देखिन छाडेको अर्का स्थानीय सरफुद्धिन मुसलमान बताउँछन् । ‘प्रकृतिको कुचिकार’ मानिने गिद्ध अहिले टाढा टाढासम्म पनि देख्न पाइँदैन,’ उनले भने ।
गिद्ध लोप हुन थालेपछि जिल्लाको ठाउँ ठाउँमा फालेका सिनोको दुर्गन्ध बढेर सर्वसाधारणले सास्ती भोग्नु परेको छ । सदरमुकाम वरपरका गाउँमा फालेको सिनो गन्हाएर आवत जावत गर्न गाह्रो भईरहेको स्थानीयको गुनासो छ । जिल्लामा डाईक्लोफेमिक र मानवीय अतिक्रमणका कारण गिद्धहरुको जीवन संकटमा परेको पशु कार्यालयका अब्दुल सलामले जनाए । गिद्धलाई नराम्रो मानिने यस समाजमा अहिले यसको महत्व बल्ल थाहा भएको उनी बताउँछन् ।
मानिसका लागि समेत प्रयोग हुने डाईक्लोफेनक पशुका लागि पनि प्रयोग हुने गरेको छ । पशुको जीउ दुख्ने र ज्वरो आउँदा प्रयोग हुने यो औषधिले गिद्धको बिनासमा ठुलो भूमिका खेलेको पशु सेवा कार्यालयका प्रमुख सलामले बताए । डाईक्लोफेनक औषधी लगाइएका पशुको सिनो खाएपछि गिद्धको मृगौलामा असर गर्ने हुँदा गिद्ध मर्ने गरेको उनले बताए ।
औषधी ऐन २०३५ ले डाईक्लोफनेक उत्पादन, प्रयोग, बिक्रीवितरण, आयात, निर्यात र भण्डारण गरेका पाईए ३ बर्ष कैद वा ५ हजार जरिवाना वा दुबै सजाय हुन सक्ने कानुनी प्रावधान छ ।
विश्वमा ८५ प्रतिशत बढी गिद्धको मृत्यु डाईक्लोफेनिकले नै भएको पशु चिकित्सकहरु बताउँछन् । गिद्धको सुरक्षित बासस्थल मानिने अग्ला अग्ला सिमल र सिसौका रुखहरु काटिनुले पनि गिद्धलाई लोप हुने अवस्थामा पु¥याएको चराविदको भनाइ छ ।
गिद्धले मरेको सिनो खाएर प्रकृती सफा राख्ने भएकाले मानव स्वास्थ्यका दृष्टिकोणले पनि यसको संरक्षण आवश्यक रहेको नेपाल पंक्षी संरक्षण संघका भुपाल नेपालीले बताए । गिद्धको संख्या घट्दा मरेका पशुको् दुर्गन्धका साथै सिनो खाने मुसा, स्याल र भुस्याहा कुकुरको संख्या बृद्धि भई विभिन्न महामारीजन्य रोगको प्रकोप बढ्ने उनले बताए ।
सामान्यतया एउटा गिद्धले ३ दिनमा १ किलो तथा बर्षमा १२० किलो सिनो खान्छ । यसले सिनो र फोहर खाएर वातावरण स्वच्छ राख्न सहयोग गर्दछ । विश्वमा अहिले करिब २३ प्रजातिका गिद्ध पाईन्छन् । जसमा दक्षिण एशियामा ९ र नेपालमा नौ प्रजातिका भेटिन्छन् । नेपालमा पाईने प्रजातिमा सानो खैरो, राज, हिमाली, खैरो र हाडफोर, डंगर, सुन, गोब्रे हुन् । जसमध्ये डंगर, सानो खैरो, लामो ठुडे र सुन गिद्ध अति संकटापन अवस्थामा छन् । सन् २०११ मा गरिएको गिद्ध सम्बन्धी अध्ययनमा नेपाल डांगर गिद्धको संख्या ९१ प्रतिशतले घटेको देखाएको थियो । – बासुदेव बर्मा

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

प्राथमिक शिक्षकका लागि आवेदन खुला

२०८१ बैशाख १५ गते, शनिबार

हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइदै

२०८१ बैशाख १४ गते, शुक्रबार

कक्षा १२ को परीक्षा सुरु

२०८१ बैशाख १४ गते, शुक्रबार