नेपाल एअरलाइन्सका कर्मचारी पक्राउ

२०७५ बैशाख ११ गते, मंगलवार

काठमाडौं, ११ वैशाख । प्रहरीले साढे ३३ किलो सुनकाण्डको छानबिनमा नेपाल एअरलाइन्सका दुईजना कर्मचारीलाई पक्रेको छ । पक्राउपर्नेमा नेपाल एअरलाइन्समा लोडर काम गर्ने तुलाराम थारु र अमर डंगोल हुन् ।
प्रहरीले यसअघि नेपाल एअरलाइन्सकै राजन थापा र प्रेमलाल चौधरीलाई पक्रेकोमा चौधरीले महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमै आत्महत्या गरेका थिए । सो सुनकान्डमा छानबिन समितिले मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रमुख विकासराज खनाल र प्रहरी नायब उपरीक्षक सन्जय राउतसँग पनि बयान लिने तयारी गरेको छ । सुन तस्कर चूडामणि उप्रेतीलाई तस्करी गर्न सघाएको आरोपमा पक्राउ परेका पूर्वप्रहरी नायब महानिरीक्षक गोविन्द निरौलामाथि कर्तव्य ज्यान र संगठित अपराध मुद्दामा करबाही अघि बढाउन मोरङ जिल्ला अदालतबाट म्याद लिइएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ३३ किलो सुन तस्करी र सोही घटनामा मोरङका सनम शाक्यको हत्याकाण्डमा निरौलालाई विपक्षी बनाइ थप अनुसन्धानका लागि म्याद लिइएको हो । गृह मन्त्रालयका सहसचिव ईश्वरचन्द्र पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले अहिले अनुसन्धानको काम गरिरहेको छ । छानबिनको दायरामा अहिलेसम्म २२ जनालाई ल्याइएको छ भने तीनजना आरोपीको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरु