सवारी–साधन भाडामा ठगी गर्ने प्रहरी फन्दामा

२०७४ पुष २६ गते, बुधबार

काठमाडौं, २६ पुस । विभिन्न व्यक्तिको सवारी–साधन भाडामा लिएर सोबापतको भाडा नबुझाउने दुईजाना पक्राउ परेका छन् । सो घटनामा संलग्न काठमाडौं, तारकेश्वरका शिवहरि कार्की र बालाजु, माछापोखरीका दिनेश कार्की भन्ने दिनेश सार्कीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरेको हो । काठमाडौं, पेप्सीकोलामा रहेको ‘रामभोले भेइकल सप्लायर्स’को नाममा उनीहरुले तीन विभिन्न व्यक्तिबाट प्रतिसवारी साधन रु एक लाख पाँच हजार रकम दिने भनी तीनओटा कार सम्झौता गरेर भाडामा लिएका थिए । करारबमोजिम सवारी–साधनको मासिक भाडा नदिइ दुईओटा कार बेवारिसे छाड्नुका साथै एउटा कार लुकाएर भागेकाले यसबाट आफ्नो रु ३७ लाख ३५ हजार ठगी भएको भन्दै पीडितले महानगरीय अपराध महाशाखा टेकुमा उजुरी दिएका थिए ।
उजुरीका आधारमा उनीहरुलाई भक्तपुर, कटुन्जेबाट पक्राउ गरी मुलुकी ऐन ठगी मुद्दामा अनुसन्धान एवं कारबाहीका लागि काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न म्याद थप गरिएको महाशाखाले जनाएको छ ।
अनुसन्धानकाक्रममा उनीहरुले टोखा बस्ने एक महिलासँग रु ३५ लाख लिइ रकम नभएको बैंक खाताको चेक दिएको, सिन्धुपाल्चोक, चौताराका एक व्यक्तिबाट २०७४ साल वैशाखमा मासिक भाडा रु एक लाख दिने सहमतिमा स्कर्पियो गाडी ल्याइ काठमाडौं, हाँडीगाउँका दीपक बस्नेतलाई जेठ महिनामा रु २९ लाखमा बिक्री गरेकोसमेत खुलेको प्रहरीले जनाएको छ ।
यसैगरी, धादिङका एक व्यक्तिबाट २०७४ साल असारमा एउटा कार मासिक रु ७५ हजार भाडा दिनेगरी लगी सवारी–साधनसहित सम्पर्कविहीन भएको, धनकुटाका एक व्यक्तिबाटसमेत २०७४ साल कात्तिकमा स्कर्पियो कार मासिक रु एक लाख भाडा दिनेगरी लिइ सम्पर्कविहीन भएको उजुरीसमेत प्रहरीमा परेकोे छ । उनीहरुले अन्य व्यक्तिलाई पनि ठगी गरेको भन्ने बुझिएकाले पीडितलाई सम्पर्कमा आउन प्रहरीले अनुरोध गरेको छ । निजहरुउपर मुलुकी ऐन ठगी महलको दफा ४ अनुसार ५ वर्षसम्म कैद र बिगो भराइ बिगोबमोजिम जरिवाना हुनसक्ने बताइएको छ । रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु