चैते छठ पर्व मनाइँदै

२०८१ बैशाख २ गते, आईतवार


काठमाडौँ । आज तराईका जिल्लाहरुमा चैते छठ पर्व धुमधामसँग मनाइँदैछ । चैत्र शुक्लपक्ष चतुर्थी तिथिबाट नुहाएर शुद्ध भएर शुरु गरिएको चैते छठअन्तर्गत हिजो शनिबार पहिलो दिन खरना विधि गरिएको थियो । चैते छठ अन्तर्गत चोखो ठाउँ तथा भाडाको प्रयोग गरेर घरमा नै तयार पारिएको ठेकुवा, भुसुवा, उखु, नरिवल, अदुवा, बेसार र फलफूल छैटीमा राखेर घर नजिकको पोखरी, तलाउ, नदीलगायतका जलाशयमा पुगेर आज अस्ताउँदो सुर्यलाई अर्घ दिइँदैछ ।
चैते छठका लागि सर्लाहीका २० वटै पालिकामा पोखरी, नहरलगायतका जलाशयलाई सफा गरेर चिटिक्क पारिएको छ । स्थानीयले मिलेर आ–आफ्नो ठाउँका जलाशयलाई सरसफाइ गरी आजका लागि छठीघाट निर्माण गरेका हुन् । भोली बिहान पुनः ती प्रसाद सामाग्री उदाउँदो सूर्यलाई अर्पण गरी चैते छठको समापन गरिने छ । शरद ऋतुको कार्तिकमा मनाइने छठ जस्तै गृष्म ऋतु अर्थात् चैत्र महिनामा पनि मनाउने परम्परा रहेको छ ।
छठ पर्व मनाएमा परिवारमा सुख, शान्ति, समृद्धि, चर्म रोग निको हुने वा नलाग्ने जनविश्वास रहेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु