वाइडबडी प्रकरण : तत्कालीन मन्त्री शाहीसहित ३२ जनाविरुद्ध मुद्दा

२०८० चैत्र २२ गते, बिहीबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही र नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न कंशाकारसहित ३२ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको छ । अख्तियारले वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरेको छ । अख्तियारले शिशिर ढुङ्गाना, बुद्धिसागर लामिछाने, टेकनाथ आचार्य, निमा नुरु शेर्पा, मुक्तिराम पाण्डे, जीवन सिटौला र अच्युतराज पहाडीलाई पनि अख्तियारले प्रतिवादी बनाएको छ ।
शाही कर्णाली कांग्रेस संसदीय दलका नेता हुन् । तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्री समेत भएका थिए । कंसाकार भने अहिले सार्वजनिक जिम्मेवारीमा छैनन् ।
२०७४ वैशाखमा मन्त्रिपरिषद् बैठकमा निर्णय भएर विमान खरिद भएकोमा ३ अर्ब बढी भ्रष्टाचार भएको आरोप लागेको थियो । आयोगले १ अर्ब ४७ करोड १० लाख ८५ हजार बिगो दाबीसहित बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको विशेष अदालतका सुचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

प्रतिक्रियाहरु