समाजवादी मोर्चाले चैत २० गते बृहत अन्तरक्रिया गर्ने

२०८० चैत्र ११ गते, आईतवार


काठमाडौँ । समाजवादी मोर्चा नेपालको सचिवालय बैठक सम्पन्न भएको छ । आज अपरान्ह प्रधानमन्त्री निवास वालुवाटरमा मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको अध्यक्षतामा समाजवादी मोर्चा नेपालको शिर्षथ नेताहरुसहित सचिवालयको बैठक बसेको हो । उक्त बैठकले यही चैत २० गते काठमाडौँमा बृहत अन्तरक्रिया गर्ने निर्णय गरेको छ।
यसैगरी, आजको बैठकले समाजवादी मोर्चा नेपालको मुखपत्र ‘समाजवादी मोर्चा’ लेनिन दिवसको अवसर पारेर प्रकाशन गर्ने निर्णय गरेको छ।
बैठकमा इलाम र बझाङ्गमा हुन लागेको उप निर्वाचनका बिषयमा समेत छलफल भएको र उपनिर्वाचनमा भाग लिने राजनीतिक दल र सत्ताधारी दलहरुबीच समझदारी गर्ने निर्णय भएको छ।
यसैगरी, उक्त बैठकमा नेपाल कम्युनिष्ट पार्टी एमाले अहिले समाजवादी मोर्चा नेपालका लागि आवश्यक भएको तर अहिले आफू नेपाल सरकारको सरकारी गठबन्धनबाट सरकार चलाइरहेको कारणले समाजवादी मोर्चामा तत्काल आउन नसकिने र सल्लाह गर्नुपर्ने नेकपा एमाले केपी शर्मा ओलीको धारणा रहेको र अहिले तत्काल नेकपा एमाले समाजवादी मोर्चामा नआउने तर समाजवादी मोर्चालाई सकारात्मक रहेकोले उक्त बिषयमा समेत छलफल भएको बताइएको छ।
स्मरणीय छ, गत असार ४ गते सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए भने गत फागुन ६ गते, आईतवार नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागी बैठकले महासचिव विप्लव सीलाई समाजवादी मोर्चा नेपालको संयोजक तोकेको थियो ।
उक्त मोर्चाको सचिवालयमा नेपाल कम्युनिस्ट पार्टीका प्रबक्ता प्रकाण्ड सी, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपा समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहेका छन् ।

प्रतिक्रियाहरु